Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

उत्तराखण्ड बाढी : नेपालीहरुको खोजी तथा उद्धारका लागि दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन

उत्तराखण्ड बाढी : नेपालीहरुको खोजी तथा उद्धारका लागि दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् ।

सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी उनले दिएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उल्लेख गरिन् ।

बाढीमा परि बेपत्ता भएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि निर्देशन दिएको बताएकी उनले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दर्दै पीडाको यस घडीमा रहेका परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ दिल्लीस्थित भारतीय राजदूताबासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएको बताएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्–‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ । उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु । सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

मंगलबारको भारी वर्षाका कारण भारतको उत्तराखण्ड राज्यमा आएको बाढीपहिरोमा परि जुम्ला र जाजरकोटका ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । त्यसैगरी जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन्।

उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो।

जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका ६ जना र जुम्लाका एक जनाको मृत्यु भएको हो ।

जाजरकोटको कुशे गाउँपालिका २ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको स्थानीय तहले उद्धारको पहल गरेको छ। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ।

कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको छ ।

त्यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको आफूले जानकारी पाएको अध्यक्ष बस्नेतले बताए।

बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन, मधुवन–५ गाउँ नम्बर ८ का एक र मधुवनकै वडा नखुलेका एक जना छन् ।

पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएको नरेन्द्रका काका उद्धव खड्काले बताए । वडा नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन् ।

जाजरकोटको कुशे गाउँपालिकाले आज विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरुको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले घटनाबारे कुशे गाउँपालिकाले निकालेको विज्ञप्तिलाई आधिकारिक मानेर गृह मन्त्रालयसँग उद्धार र खोजी कार्यका लागि आवश्यक समन्वय गरिदिन पहल गरेको बताएका छन् ।

गाउँपालिकाले सम्पर्कविहीन भएकाहरुको खोजी तथा उद्धार गरिदिने संघ सरकारमार्फत भारत सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै, उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् । सडक निर्माणको काममा गएका नेपाली कामदार खोला किनारमा टेन्ट हालेर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077