काठमाडौं । कुनै बेला ‘गुण्डा नाइके’ छवी बनाएपनि अहिले गाउँपालिकाको उपाध्यक्ष बनेका दावा लामा (जितेन्द्र) विरुद्धको लागूऔषध मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
काभ्रेको भुम्लु गाउँपालिका उपाध्यक्ष रहेका लामाको सुनुवाइको पेशी न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ ।
२०७१ भदौ २ गते प्रहरीले बौद्ध, नयाँ बस्तीस्थित दिव्य पार्टी प्यालेसको स्वीमिङ पुलबाट दावालाई पक्राउ गर्दा उनीबाट १४.८० ग्राम खैरो हेरोइन बरामद भएको थियो ।
उक्त मुद्दामा उनीसँगै कञ्चनपुर जिल्ला, महेन्द्रनगर नगरपालिका–४ का प्रवीण खड्का र दार्चुला साविक धारी गाविस–७ का वीरेन्द्रबहादुर कुँवर पनि पक्राउ परेका थिए ।
काठमाडौं जिल्ला अदालतबाट २०७२ मंसिर २७ मा भएको फैसलाले दावाको हकमा लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१) (१) बमोजिम ५ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर गरेको थियो भने अरु दुईले सफाइ पाएका थिए ।
उक्त फैसलालाई उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्रकुमार शिवाकोटी र रामप्रसाद अधिकारीको इजलासले २०७५ असोज १६ गते जिल्लाकै आदेशलाई सदर गरेको थियो ।
तर, लामाले उच्चको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्चको रिट दायर गरेका थिए । उक्त निवेदनमाथि आज पेशी तोकिएको हो ।
जिल्ला र उच्चकै आदेश सदर गरेको खण्डामा गाउँपालिका उपाअध्यक्ष लामा जेल जानुपर्ने हुन्छ भने सफाइ पाएको खण्डमा मात्रै उनको पद जोगिने छ ।