चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ। बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो।
चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन्। निकुञ्जको मुख्य कार्यालय कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई बाघ छन्।
मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ। तिनलाई दैनिक मासु खुवाउनु पर्छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रुपमा ती बाघ पाल्न रु ३० लाख हाराहारी बजेट चाहिन्छ।
एउटा बाघलाई दैनिक पाँच किलोदेखि सात किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ। सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक पाँच लाख हाराहारी मात्रै बजेट छुट्याउने गरिएको उनले बताए।
सूचना अधिकारी थापामगरका अनुसार गत आर्थिक वर्षमा बाघका लागि किनिएको मासुको झण्डै २२ लाख रकम भुक्तानी गर्न बाँकी छ। ए
बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए।
बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन्।