काठमाडौं । न्याय समूहका ८४ जना उपसचिवको सरुवा भएको छ। प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सरुवा गर्ने निर्णय गरेको हो।
ऋण असुली न्यायाधिकरणका स्रेस्तेदार देवेन्द्र ढकाल सर्वोच्च अदालतको उपरजिस्ट्रारमा सरुवा भएका छन्। धादिङ जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारी, चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्य, नवलपुर जिल्ला अदालतका गम्भीर घिमिरे र काभ्रेपलान्चोक जिल्ला अदालतका कर्णबहादुर राई सर्वोच्च अदालतमा सरुवा भएका छन्।
त्यस्तै कानून समूहका ३ उपसचिव, न्याय समूहका ६३ जना र कानून समूहका १९ जना शाखा अधिकृतको पनि सरुवा गरिएको छ।
त्यसैगरी न्याय सेवा आयोगले कानूनका दुई सहसचिवलाई सचिवमा बढुवा बढुवा गर्न सिफारस गरेको छ।
सोमबार बिहान बसेको आयोगको बैठकले निर्मला अधिकारी भट्टराईलाई सचिवमा बढुवा गर्दै सत्य निरुपण आयोगको सचिवमा पदस्थापन गर्न सिफारिस गरेको छ। उनी हाल कायममुकायम सचिव छिन्।
त्यस्तै सहसचिव इन्दिरा दाहाल भट्टराई सचिवमा बढुवाका लागि सिफारिस भएकी छन्। उनलाई कानून आयोगमा पदस्थापन गर्न सिफारिस गरिएको छ।
सूर्यराज दाहाल नायब महान्यायाधिवक्तामा बढुवाका लागि सिफारिस भएका छन्। उनी हाल कामु नायब महान्यायाधिवक्ता छन्। बढुवापछि उनी बेपत्ता आयोगको सचिवमा पदस्थापन हुनेछन्।
त्यस्तै बेपत्ता आयोगका सचिव खेमराज ज्ञवालीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। उनी नायब महान्यायाधिवक्ता हुन्।
बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल र रजिस्ट्रारमा मानबहादुर कार्कीलाई बढुवा गर्न सिफारिस गरेको छ।
अब मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेपछि उनीहरू सबैको पदस्थापन हुनेछ।