काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा विवादित बनेका सहसचिव डा. जयनारायण आचार्यलाई गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिने तयारी भइरहेको छ।
सो महाशाखा प्रमुख रहेका सहसचिव रामचन्द्र तिवारीको अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएपछि आचार्यलाई जिम्मेवारी दिन लागिएको हो। यद्यपी तिवारीको सरुवा भएको एक साता वितिसक्दा पनि निर्णय हुन सकेको छैन।
आचार्य हाल मन्त्रालयकै आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुखका रुपमा कार्यरत छन्।
यसअघि काठमाडौंको सिडिओ समेत चलाएका आचार्य नक्कली शैक्षिक प्रमाणपत्रकै विवादमा परेपछि तानिएका थिए।
हाल गृह मन्त्रालयको नयाँ भवनका लागि आवश्यक फर्निचर लगायत सामान खरिदमा पनि उनले लुट मच्चाइरहेको मन्त्रालय स्रोत बताउँछ ।
आचार्यले प्रवीणता प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । जसमा उनले सर्वोच्च अदालतबाट सफाइ पाएका थिए।
पछि नेपाल प्रहरीका सइ निरबहादुर अधिकारीको सोही प्रकृतिको मुद्दामा आचार्यको मुद्दाको समेत प्रसंग निकालेर सो फैसला अमान्य हुने फैसला गरेको थियो।
उनलाई दोषी ठहर नगरेपनि सर्बोच्चले उनको प्रमाणपत्र भने नक्कली नै हुने उल्लेख गरेपछि उनी नैतिक संकटमा परेका थिए।
पछि निजामती किताबखानाबाट आफ्नो पुरानो सर्टिफिकेट हटाएर नयाँ राखेका छन्। जसमा आइए र बिए उत्तीर्ण वर्ष एउटै उल्लेख छ।
उनै आचार्यलाई गृहको महत्वपूर्ण महशाखाको जिम्मेवारी दिने कि नदिने भन्नेमा विवाद भइरहेको छ।