Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सुरक्षा र सीमा व्यवस्थापनमा एकअर्कालाई सहयोग गर्ने नेपाल र भारतबीच सहमति

सुरक्षा र सीमा व्यवस्थापनमा एकअर्कालाई सहयोग गर्ने नेपाल र भारतबीच सहमति

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेपाल र भारतबीच सुरक्षा र सीमा व्यवस्थापनका विषयमा पारस्परिक सहकार्यलाई सुदृढ गर्ने सहमति भएको छ ।

भारतको नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय गृह सचिवस्तरीय बैठकले दुबै देशका सुरक्षा संस्थाहरूबीच विश्वास, समन्वय र सहकार्य विस्तार गर्न साझा प्रतिबद्धता व्यक्त गरेको हो ।

बैठकमा नेपालका तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडी र भारतका तर्फबाट गृह सचिव गोविन्द मोहनले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

बैठकमा सीमा स्तम्भहरूको मर्मत र संरक्षण, सीमापार आपराधिक गतिविधि नियन्त्रण, सीमा जिल्ला समन्वय समितिको सक्रियता, तथा सीमा क्षेत्रका पूर्वाधार सुदृढीकरण लगायतका विषयमा विस्तृत छलफल भएको छ ।

एकीकृत जाँच चौकी, सडक तथा रेलवे सञ्जाल विस्तार, सुरक्षा निकायको क्षमता अभिवृद्धि, र विपद् व्यवस्थापनमा सहकार्य पनि छलफलको केन्द्रमा रहेका थिए।

बैठकमा अपराधिक मामिलामा आपसी कानुनी सहायता सम्बन्धी सम्झौता पत्रको अन्तिम रूपलाई स्वागत गर्दै, परिमार्जित प्रत्यर्पण सन्धिलाई चाँडै टुंगोमा पुर्‍याउने विषयमा पनि सहमति जुटेको छ।

दुबै पक्षले सीमा पार अपराध नियन्त्रण तथा उदाउँदो सुरक्षा चुनौतीहरूमा संयुक्त कार्ययोजना निर्माणको आवश्यकता औंल्याएका छन्।

बैठकमा पारस्परिक सम्मान र विश्वासका आधारमा द्विपक्षीय सुरक्षात्मक साझेदारीलाई थप संस्थागत गर्ने निर्णयसमेत गरिएको छ। साथै, आगामी सचिवस्तरीय बैठक नेपालमा आयोजना गरिने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077