काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख घुसकाण्डको अडियो बाहिरिएपछि राजीनमा दिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई बोलाएको छ।
घुस लेनदेन गरेको अडियोसहित उजुरी परेपछि गुप्तालाई अख्तियारले ‘भ्वाइस टेस्ट’का लागि मंगलबार हाजिर हुन भनेको हो।
घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।
अख्तियारले गुप्ताका अडियो पनि लिने भएको छ । नमुनाको रुपमा प्राप्त हुने उक्त अडियोको वास्तविकता परीक्षण गर्न सम्बन्धित व्यक्तिको आवाजसँग त्यसको परीक्षण गर्नुपर्छ ।
मन्त्री गुप्ताको आवाज भनी अडियो सार्वजनिक भएको थियो, त्यसको परीक्षणका लागि आयोगले उनको आवाज रेकर्ड गर्न लागेको हो ।
पूर्वमन्त्री गुप्ताले उक्त अडियो आफ्नो नभएको र एआईद्वारा बनाइएको दाबी गर्दै आएका छन्। यद्यपि प्रारम्भिक अनुसन्धानमा उक्त अडियो गुप्ताकै भएको खुलेको अख्तियार स्रोतले बताएको छ।
मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि बिचौलियासँग घुस लिएको अडियो रेकर्ड सार्वजनिक भएपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।