गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा डस्टबिन राखिएको छ ।
स्थानीयवासीको सहभागितामा फोहर व्यवस्थापनका लागि पदमार्गमा डस्टबिन राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए।
पदमार्गलाई सफा, सुन्दर र सुरक्षित राख्न ठाउँठाउँमा डस्टबिन राखिएको हो। फोहर व्यवस्थापनबाट वातावरण संरक्षणमा समेत सहयोग पुग्ने उनको भनाइ छ।
प्रमुख शेरचनले भने, 'त्यहाँ घुम्न पर्यटकले जथभावी फोहर फ्याक्ने गर्दा मनास्लु लार्केपास पदमार्गमा जथाभावी फोहर देखिने गरेको छ। त्यसलाई व्यवस्थित र प्रभावकारी व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन राखिएको छ।'
मनास्लु पदमार्गमा पानीको बोतल, बिस्कुट चाउचाउका खोललगायतका फोहर यत्रतत्र देखिने गरेका थिए ।