धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित नाष्टकलेज नजिक गएराति भीषण आगलागी भएको छ ।
रातको करिब १०ः५० बजे विद्युत सर्ट भई भएको आगलागी हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्पेक्स होलसेल कपडा पसल र सेन्टर पोइन्ट रेस्टुरेन्टसहित ८ वटा सटरमा फैलिएको थियो ।
आगलागीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाको कमाण्डमा ४५ जना प्रहरी र सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको नेतृत्वमा २५ जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो ।
दमकलको प्रभावकारी प्रयोगसहित धनगढी उपमहानगरपालिकाका २ वटा, गोदावरी नगरपालिकाको १ वटा दमकल र स्थानीय बासिन्दाको सकृय सहयोगमा आगो मध्यरात १२ः१० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीका अनुसार व्यवसायी विश्व प्रकाश कडेलद्वारा सञ्चालित ती पसल र रेस्टुरेन्टमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि विस्तृत क्षति विवरण र अनुसन्धान कार्य अझै जारी छ ।