Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

साउनको पहिलो सोमबार आज, पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार आज, पशुपतिनाथमा भक्तजनको घुइँचो

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज । आज बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्।

अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् ।

सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले बताए ।

मूल मन्दिरमा भीड नहुने गरी कोषले यस वर्षको साउने सोमबारको दर्शनको व्यवस्था मिलाइने जनाएको छ। भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ। नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ राख्ने छ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ। साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ।

आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी महिला भक्तजनको भीड लागेको छ। पहेलो, रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ।

विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077