बनेपा । अविरल वर्षासँग आएको पहिरोका कारण दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दोलखाको बिगु गाउँपालिका १ सोल्टीमोडमा पहिरो खस्दा सिंगटी लामाबगर सडकखण्ड अवरुद्ध भएको हो ।
सडक खुलाउने पहल भइरहेको तर खुल्न केही समय लाग्न प्रहरीले जनाएको छ ।
दोलखा प्रहरीका अनुसार कालिन्चोक गाउँपालिका ६ लापिलाङ जाने सडक पनि अवरुद्ध भएको छ ।
गोदुङ भन्ने ठाउँमा खहरेखोलाको पानी राति जमेर एकैपटक खुल्दा सडकमा क्षति पुगेको छ ।
यसैबीच, पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।
पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोक प्रहरी अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ ।
सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका छन् । सडक अवरुद्ध सँगै जुरेमा बिजुलीको पोल ढलेको छ ।
त्यस्तै महभीरमा सडक भास्सिएको प्रहरीले जनाएको छ । पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरका स्थानीय प्रभावित भएका छन् ।
पहिरोका कारण तातोपानी नाकाबाट सामग्री ल्याएका र लिन गएका कन्टेनर रोकिएका छन् ।
२०७१ साल साउन १७ गते अन्तर्राष्ट्रिय क्षेत्रमै हलचल मच्चाउने गरी जुरे पहिरो गएको थियो । उक्त पहिलोले सिन्धुपाल्चोकको पाँच गाउँ सुनकोसी नदीमा बिलय गराउँदा एक सय ४५ जनाको एकै पटक निधन भएको थियो ।
पहिरोले बर्खामा उर्लिएको सुनकोसी नदी लगातार ११ घण्टासम्म थुनिएपछि विशाल कृत्रिम ताल बन्दा तटिय क्षेत्रमा समेत जोखिम उत्पन्न भएको थियो ।