काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हनी ट्र्यापमा पारेर पाँच लाख रकम असुलेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् ।
उनीहरूमाथि सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्र्यापमा पारेको आरोप छ ।
ठमेलमा मदिरा सेवन गरेपछि युवकको नग्न फोटो, भिडिओ समेत लिएर ब्ल्याक मेलिङ गरेको र बलात्कार कसुरमा फसाउनेसम्म धम्की दिएको भन्ने सूचना पाएपछि प्रहरीले अनुसन्धान बढाएको थियो ।
प्रहरीका अनुसार उनीहरुले सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएका थिए ।
अन्तिममा उनीहरूले ५ लाखको चेक काट्न बाध्य पारी लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई हिजो साँझ हनुमानस्थानबाट पक्राउ गरेको हो ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Leave a Reply