अछाम । नेकपा एमाले चौरपाटी गाउँपालिकाको नेतृत्व फेरि झंकरबहादुर साउदको हातमा गएको छ । सोमबार सम्पन्न पालिकाको दोस्रो अधिवेशनले सर्वसम्मत रूपमा साउदको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
अध्यक्षमा झंकरबहादुर साउद पुनः निर्वाचित हुनु चौरपाटी एमालेको एकमत र विश्वासको प्रतीकको रूपमा हेरिएको छ। उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा राजेन्द्र साउद, उपसचिवहरूमा लालबहादुर साउद र मिना साउद चयन भएका छन् ।
एमाले चौरपाटीको नयाँ कमिटीले स्थानीय तहमा संगठनात्मक सशक्तिकरण, सेवा प्रवाहमा पारदर्शिता र विकासमुखी योजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
अध्यक्ष साउदले अनलाइन नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘चौरपाटीको विकास र सुशासनमा हाम्रो ध्यान केन्द्रित हुनेछ। अब हामी मिसन २०८४ मा लाग्ने छौँ र पालिकामा डा. भीम रावलको प्रभावलाई निस्तेज पार्ने रणनीतिमा अघि बढ्नेछौँ ।’
को हुन् झंकरबहादुर साउद ?
झंकरबहादुर साउद चौरपाटी गाउँपालिका-२ सोकटमा जन्मिएका हुन ।उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय छन्। कक्षा ८ पढ्दादेखि राजनीतिक यात्रामा होमिएका उनले डोटीमा अध्ययनकालीन समयमा अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को माध्यमबाट विद्यार्थी आन्दोलनमा सक्रियता जनाए ।
विद्यार्थी हकहितका मुद्दामा आवाज उठाउँदै आएका उनी संगठन र विचारका लागि समर्पित नेता मानिन्छन्। एमाले चौरपाटी गाउँ कमिटीको संस्थागत मजबुतीमा उनको योगदान उल्लेखनीय छ।
तत्कालीन नेकपा नेकपाको पालामा पालिका अध्यक्ष बनेका उनी पार्टी विभाजनपछि एमालेको संगठन जोगाउने महत्वपूर्ण जिम्मेवारीमा रहे। माधव नेपाल समूहको विद्रोहका क्रममा पनि उनले चौरपाटीमा पार्टी संरचना सुरक्षित राख्न निर्णायक भूमिका खेले।
नेकपा (एस) का केन्द्रिय सचिव तथा सांसद शेरबहादुर कुँवरको गृहपालिकामा उनले एमालेको प्रभावलाई कायम राखे । यही कारण, स्थानीय कार्यकर्तामाझ उनको लोकप्रियता अझ बलियो बनेको छ र उनी फेरि अध्यक्षको रूपमा दोहोरिएका छन् ।
फेरि अब उनको काधँमा ठूलो जिम्मेवारी आएको छ । नेकपा एमालेबाट निकालिएका भीम रावलको प्रभाव चौरपाटीमा हुन नदिन उनले भूमिका खेल्नुपर्ने छ । भीम रावलले पालिकामा आफ्नो अभियानलाई तीव्रता दिइरहेका छन् ।
कार्यकर्तालाई टिकाइ राख्न उनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ । साथै यसअघि स्थानीय तहको चुनावमा गाउँपालिकामा एमालले हार व्यहोरेको थियो । त्यसलाई फेरि फर्काउन उनलाई ठूलो चुनौती छ ।
Leave a Reply