Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । हालै सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

विगत लामो समयदेखि विवादित र अस्थिर देखिएको एनआरएनएमा श्रेष्ठ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठको निर्विरोध चयनलाई एनआरएनएको नेतृत्व तहमा अनुभवी, निडर र समर्पित व्यक्तित्वको उदयको रूपमा हेरिएको छ।

१६ वर्षदेखि युएईलाई कर्मथलो बनाउँदै आएका श्रेष्ठ प्रवासी नेपालीको हकहितका लागि निरन्तर सक्रिय छन्। २०७२ सालको विनाशकारी भूकम्प, विभिन्न बाढी–पहिरो र कोभिड–१९ महामारीका बेला नेपालमै पुगेर राहत तथा पुनर्निर्माणमा सक्रिय भूमिका खेलेका श्रेष्ठको योगदानको चौतर्फी प्रशंसा हुँदै आएको छ।

श्रेष्ठको एनआरएनएमा नेतृत्व यात्रा २०११ मा युएई एनसीसी उपाध्यक्षको रूपमा सुरु भएको हो। त्यसयता उनले विभिन्न पाँच शीर्ष नेतृत्व तहमा कार्य गर्दै संगठनलाई सशक्त, समावेशी र सेवामूलक बनाउने अभियानमा योगदान दिएका छन् ।

उनी १४ वर्षदेखि सक्रिय रुपमा काम गरिरहेका छन् । श्रेष्ठले एनआरएनए नेतृत्वको सुरुआत युएईमा एनसीसी उपाध्यक्षको रूपमा गरे ।

उनले सन् २०११–२०१३ सम्म युएईमा एनसीसी उपाध्यक्षको जिम्मेवारी सम्हाले । जहाँ उनले नेपाली श्रमिकहरूको सामाजिक, आर्थिक तथा कानुनी हकहितमा उल्लेखनीय काम गरे । यस्तै सन् २०१७–२०१९ सम्म आईसीसी सदस्य बने ।

अन्तर्राष्ट्रिय तहमा प्रवेश गर्दै श्रेष्ठले नीतिगत निर्माण, संस्थागत समन्वय र खेलकुद मार्फत प्रवासी नेपाली युवालाई जोड्ने प्रयास गरे। उनको संयोजकत्वमा ८औं तथा ९औं राष्ट्रिय खेलकुदमा एनआरएन टिमले क्रमशः १६ र २४ पदक जिते ।

यसैगरी, उनी सन् २०१९–२०२१ सम्म मध्यपूर्व उप–संयोजकको जिम्मेवारीमा रहे । कोभिड महामारीको कठिन समयमा श्रेष्ठले राहत वितरण, अक्सिजन सिलिन्डर आपूर्ति लगायत महत्वपूर्ण समन्वयात्मक काम गरेका थिए । यस्तै सन् २०२१–२०२३ सम्म मध्यपूर्व संयोजकको जिम्मेवारी सम्हाले ।

इराक लगायत सबै एनसीसीहरूको भ्रमण गरी श्रमिकको पक्षमा ऐतिहासिक काम, निर्विरोध निर्वाचनमार्फत लाखौँ डलरको बचत । उनी २०२३–२०२५ सम्म आईसीसी प्रथम सचिवको जिम्मेवारीमा रहे ।

जहाँ उनले संस्थागत अनुशासन, पारदर्शिता र कूटनीतिक समन्वयमा नयाँ अभ्यासको सुरुआत गरेका थिए । श्रेष्ठको संयोजकत्वमा २०२३ मा ओमानमा सम्पन्न क्षेत्रीय भेलाले हजारे अभियान अनुमोदन गरेको थियो, जसको आधारमा नेपाल सरकारले सामाजिक सुरक्षा कोषको अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।

श्रेष्ठ २०२५ मा निर्विरोध उपाध्यक्ष निर्वाचित हुँदा एनआरएनएभित्र उनको व्यापक समर्थन प्रष्ट भएको छ । विजयी भएपछि प्रतिक्रिया दिँदै उनले भने, “एनआरएनए मेरो लागि कुनै पद होइन, यो त पीडा बोकेका लाखौँ प्रवासी नेपालीको आवाज हो। म नेतृत्व गर्न होइन, सेवा गर्न आएको हुँ।”

उनले अब श्रमिक हितमा नीतिगत सुधार, युवा तथा महिलाको समावेशिता, आर्थिक कूटनीति र लगानी प्रवर्द्धन, संस्थागत पारदर्शिता र राजनीतिक निष्पक्षता, डिजिटल संरचना र नवप्रवर्तनमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077