काठमाडौं । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको पार्टी एकता अलमलमा परेको छ । नाउपाका संरक्षक रेशमलाल चौधरी अदालतको ‘फेक’ पत्रका आधारमा पक्राउ र रिहापछि नेताहरू त्यसको समीक्षामा जुटेका छन् ।
चौधरी बुधबार अदालतको फेक पत्रका आधारमा पक्राउ परेर साढे ४ घण्टापछि रिहा भएका थिए । त्यसपछि नेताहरूले एक–दुई दिनमै पार्टी एकता हुने बताए पनि अलमल बढ्दै गइरहेको छ । दुई पार्टीबीच एकता गर्न सबै तयारी पूरा भइसक्दा पनि पार्टी एकतामा ढिलाइ हुने भएको छ ।
‘पार्टी एकताको तयारी त भई नै सकेको थियो तर राज्यपक्षदेखि अन्य विभिन्न कारण ढिलाइ हुने भयो, एकताका लागि दुवै पार्टीले केन्द्रीय समिति, कार्यकारिणी समितिमा राख्नुपर्ने नामावली अझै टुंगो लगााउन सकेका छैनन्, अर्कोतर्फ राज्यपक्षबाट पनि एकता नहोस् भन्ने षड्यन्त्र भइरहेको छ,’ नाउपाका एक नेताले भने ।
जनमत र नाउपाबीच पार्टी एकताका विषयमा छलफल चल्दैगर्दा दुई साताअघि जनमतका अध्यक्ष राउतले एकता भाँड्न षड्यन्त्र भइरहेको बताएका थिए । ज्यान मार्नेदेखि घरभित्रै झगडा लगाएर जसरी पनि पार्टी एकता भाँड्न खोजिएको उनले बताएका थिए ।
अर्कोतर्फ दुवै पार्टीले एकतापछि कार्यकारिणी समिति, केन्द्रीय समितिको नामावली टुंगो लगाउन बाँकी नै छ । दुवै पार्टीका बीचमा एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहने सहमति भइसकेको छ ।
चुनाव चिह्न नाउपाले प्रयोग गरेको ढकिया रहनेछ । यस्तै, पार्टीको झन्डा कलेजी रङको आयातकारको बीचमा सेतो ढकिया रहनेछ । एकीकृत पार्टीको संरक्षकमा चौधरी, अध्यक्षमा राउत र सहअध्यक्षमा श्रेष्ठ रहने सहमति भइसकेको छ । राजधानी दैनिकबाट
Leave a Reply