काठमाडौं । रिक्त भएको एक महिनापछि नेपाल प्रहरीमा रिक्त रहेका ६ एआईजी पदमा बढुवा सिफारिस भएको छ। तिव्र चलखेलका बाबजुत ज्येष्ठताकै आधारमा बढुवा निकालिएको छ ।
डिआइजीहरू चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीको बढुवा सिफारिस भएको छ ।
उनीहरुमध्ये मनोज केसीको बढुवालाई धेरैले आश्चर्यका रुपमा हेरेका छन्। यसअघि रवि लामिछानेनिकट भएर डिआइजी बढुवा भएको र बेचन झालाई पक्राउ गर्ने भूमिकामा रहेको आरोप उनीमाथि थियो।
सोही कारण यो सरकार बनेलगत्तै उनलाई बिशेष ब्यूरोबाट प्रहरी एकेडेमीमा सरुवा गरिएको थियो। उनै केसीलाई अहिले सरकारले बढुवा गरेको छ । जबकी बढुवाको प्रतिस्पर्धामा अरु धेरै शक्तिशाली डिआइजीहरु थिए। स्रोतका अनुसार कांग्रेस महामन्त्री गगन थापाको समेत दबाबमा उनी बढुवामा परेका हुन्।
एउटै स्कुल पढेका गगन र मनोज साथी हुन्। पछिल्लो समय सरकारविरुद्ध गगन आक्रमक बनेका थिए। मनोजलाई बढुवामा छुटाउँदा उनी थप रुष्ट हुन सक्ने भएकाले बढुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।
बढुवा भएकामध्ये चन्द्रकुबेर, लालमणी र कृष्णहरी पूरानो टोलीका हुन्। उनीहरूमध्ये चन्द्रकुबेर दुई महिनाका लागि आइजिपी समेत बन्ने सम्भावना छ । लालमणिले जेठ १० मा र कृष्णहरी भदौमा अवकाशमा जानेछन्। चन्द्रकुबेर १९ भदौदेखि २७ कात्तिकसम्म आइजिपी हुने सम्भावना देखिएको छ ।
त्यसपछि दानबहादुर कार्की आइजिपी बन्ने सम्भावना बढेको छ। यद्यपी राजन अधिकारी र मनोज केसी पनि प्रतिस्पर्धामा हुनेछन्।
Leave a Reply