धनगढी । कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा हत्या गरिएका ३५ वर्षीय जगदीश कैनी सडक पेटीमा बस्दै आएका व्यक्ति भएको खुलेको छ।
डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनी अत्तरिया क्षेत्रमा मागेर गुजारा चलाउने र दुर्गा मन्दिर परिसरमै सुत्ने गर्थे ।
प्रहरी स्रोतका अनुसार उनी मन्दिरमै सुतेका बेला टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको हो । शव मन्दिरको पछाडि घिसारिएको अवस्थामा गत चैत २७ गते बिहान भेटिएको थियो ।
घटनामा संलग्न आशंकामा दुई पुरुष र एक महिला पक्राउ परेका छन् । तीमध्ये एक अपांग पुरुष र महिला पूर्व माओवादी लडाकु हुन् र आफूलाई श्रीमान-श्रीमतीको रूपमा चिनाउँथे ।
पक्राउ परेका पुरुषले कैनीले आफ्नो श्रीमतीलाई जिस्क्याउने, अपांगता देखेर होच्याउने र पैसा चोर्ने गरेको आरोप लगाउँदै हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले बरामद गरेका आरोपीतका लुगामा रगत समेत लागेको भेटिएको छ ।
तर, कैनी पनि अपांग भएकाले एक जनाले मात्र हत्या गर्नु शंकास्पद रहेको प्रहरी बताउँछ । घटनाको इलाका प्रहरी कार्यालय मालाखेतीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली, प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोलीले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply