काठमाडौं । प्रहरीले पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा २० जनालाई पक्राउ गरेको छ ।
लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बौद्ध बस्ने रितेश लामाको ६० लाख रुपैयाँ लुटपाट भएको थियो ।
जग्गाको बैना गर्न लगेको उक्त रकम लुटिएपछि बुधबार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका थिए ।
जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक जनासँग कुराकानी भइरहेका बेला ८–९ जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेको उनले प्रहरीलाई बताएका छन् ।
त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सीसीटिभी फुटेजमा समेत लुटेर लगेको देखिएको थियो । लुटेरा समूह भने मोटरसाइकल र स्कुटरमा चढेर फरार भएको थियो ।
पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ । एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले बयान दिएका छन् ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ । उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । यति ठूलो रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
Leave a Reply