वीरगन्ज । हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ । शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो ।
स्थिति तनावग्रस्त बनेपछि अहिले जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु जारी गरिसकेको छ । आक्रोशित भीडले छपकैयास्थित श्रीराम हल अगाडिको आधा दर्जन बिरयानी हाउसमा तोडफोड र आगजनी गरेको थियो ।
तर पर्सा प्रहरीले बल प्रयोगमा अत्याधिक संयमता अपनाएको छ । झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जन बढी सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाई फायर पनि गरेको थियो ।
पर्साका एसपी गौतम मिश्रका अनुसार झडपका क्रममा प्रहरीतर्फ कम्तीमा १७ जना घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ मानवीय क्षति भएको छैन । तर भौतिक क्षति भएको प्रहरीले जनाएको छ । झडपका क्रममा पर्साका एसपी गौतम मिश्रको हातमा चोट लागेको छ ।
यस्तै सशस्त्र प्रहरीका डीएसपी पनि र करिब एक दर्जन स्थानीय बासिन्दा घाइते भएका छन् । दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ७:३० बजेदेखि लागू हुनेगरी आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
साथै प्रहरी र प्रशासनले दुवै समुदायलाई संयमता अपनाउन अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पूर्वमा वीरगन्ज-१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज-२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज-१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज-१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको छ ।
Leave a Reply