Online Nepal
  • शुक्रबार, ५ बैशाख २०८२
  • विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, घटना लुकाउन बोरामा राखेर गाडियो शव

    विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, घटना लुकाउन बोरामा राखेर गाडियो शव

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 297
    SHARES

    सिरहा । विद्युतीय धरापमा परेर सिरहाको गोलबजार नगरपालिका–९, गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको मृत्यु भएको छ । जंगली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको हो ।

    उक्त घटनामा धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९, गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।



    उनका अनुसार, ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिई सार्कीलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ ।

    गएको फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसनाको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो ।

    घाँस काट्न जान्छु भन्दै घरबाट हिँडेकी छोरी हराएको भनेर भोलिपल्ट आमा जेहदा खातुनले खोजीका निम्ति मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन चैत १२ मा शव सडेगलेको अवस्थामा भेटिएको थियो ।

    त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्युरो, मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा चैत २४ मा सार्कीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, उक्त घटनामा बरामद दशीका रूपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ ।

    फागुन २९ गते बिहान करिब ९ः०० बजेतिर सार्कीले जंगली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केही बेरमै बालिका चिच्याएको अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ ।

    घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार