Online Nepal
  • शुक्रबार, २९ चैत्र २०८१
  • राप्रपा प्रदर्शन : सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट निगरानी, हजारौं प्रहरी परिचाल

    राप्रपा प्रदर्शन : सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट निगरानी, हजारौं प्रहरी परिचाल

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 945
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोली मंगलबार जुलुससहित काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले भोली सभा गर्न लागेको हो ।

    राप्रपाले भोली भृकुटीमण्डपमा सभा गर्ने बताएको थियो । तर, जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ ।



    बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे ।

    उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ । राप्रपाको भोलिको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । तीन निकायका प्रमुखहरुको बैठक बसिसकेको छ ।

    त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् ।

    यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्‍खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

    १५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ ।

    तीनकुने घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा रणनीतिबारे केही बताउन चाहेको छैन । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्‍खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।

    यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कार्य सम्पादन समितिको बैठक भर्खरै सम्पन्न भएको र भोलिको प्रदर्शन र सभा सफल बनाउने निर्णय भएको बताए ।

    उनका अनुसार मंगलबार साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्केन बताए । अहिले नै कति ठाउँबाट निस्कने भन्ने यकिन भइनसकेको उनको भनाइ छ ।

    बैंठकपछि पत्रकारहरूसँग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा र अराजकतामा पार्टीले विश्वास नगर्ने बताएका छन्। अध्यक्ष लिङ्देनले पार्टीले गर्ने सबै कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक हुने बताएका छन् ।

    उनले भने–राप्रपा कुनै पनि हिंसा र अराजकतामा आफ्नो भविष्य देख्दैन र हिंसामा विश्वास गर्दैन। हामीले गर्ने सबै कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक हुनेछ। भोलि राप्रपाले बल्खु क्षेत्रमा गर्ने कार्यक्रम शान्तिपूर्ण र अहिंसात्मक हुनेछ।’

    राप्रपाले विरोध प्रदर्शनलाई सत्याग्रहका रूपमा अघि बढाउने पनि अध्यक्ष लिङ्देनले बताए। अध्यक्ष लिङ्देनले आफ्नो जीवनकालमै परिवर्तन देख्न चाहनेहरूलाई पार्टीको झन्डा वा राष्ट्रिय झन्डा लिएर कार्यक्रममा आउन आह्वान समेत गरेका छन्।

    राप्रपाले अध्यक्ष लिङ्देनकै नेतृत्वमा राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा आन्दोलन गर्ने निर्णय गरेको थियो।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बल्खुमा मंगलबार हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन पार्टीले कुनै कसर बाँकी नराख्ने बताए। व्यापक रूपमा स्वयमसेवक परिचालन र प्रभावकारी अनुगमन गरिने पनि श्रेष्ठको भनाइ छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार