काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राख्दै भोली काठमाडौंमा प्रदर्शन गर्दैछ । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि भोलीको कार्यक्रमलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्ने राप्रपाले निर्णग गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक उक्त निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराएका छन् ।
बैंठकपछि पत्रकारहरूसँग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा र अराजकतामा पार्टीले विश्वास नगर्ने बताएका छन्। अध्यक्ष लिङ्देनले पार्टीले गर्ने सबै कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक हुने बताए ।
उनले भने–‘राप्रपा कुनै पनि हिंसा र अराजकतामा आफ्नो भविष्य देख्दैन र हिंसामा विश्वास गर्दैन। हामीले गर्ने सबै कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक हुनेछ। भोलि राप्रपाले बल्खु क्षेत्रमा गर्ने कार्यक्रम शान्तिपूर्ण र अहिंसात्मक हुनेछ।’
राप्रपाले विरोध प्रदर्शनलाई सत्याग्रहका रूपमा अघि बढाउने पनि अध्यक्ष लिङ्देनले बताए। अध्यक्ष लिङ्देनले आफ्नो जीवनकालमै परिवर्तन देख्न चाहनेहरूलाई पार्टीको झन्डा वा राष्ट्रिय झन्डा लिएर कार्यक्रममा आउन आह्वान समेत गरेका छन्।
राप्रपाले अध्यक्ष लिङ्देनकै नेतृत्वमा राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा आन्दोलन गर्ने निर्णय गरेको थियो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बल्खुमा मंगलबार हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन पार्टीले कुनै कसर बाँकी नराख्ने बताए। व्यापक रूपमा स्वयमसेवक परिचालन र प्रभावकारी अनुगमन गरिने पनि श्रेष्ठको भनाइ छ।
Leave a Reply