काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा छिमेकी राष्ट्र भारतको कुनै समर्थन नरहेको बताएका छन् ।
गणेशमान सिंह फाउन्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा उनले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताए ।
देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भए पनि भारतीय नेताहरुको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको दावी गरे ।
नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी योगी आदित्यनाथले गरेको प्रतिबद्धताप्रति उनले धन्यवाद समेत दिए ।
‘अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ । यहाँ आदित्यनाथको फोटो समेत छापियो,’ देउवाले भने–‘तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन । नेपाली जनताले जे चाह्यो त्यही हुन्छ । म राजा ल्याउने पक्षमा छैन भनेर आफैंले भन्नुभएको छ ।’
नेपाल–भारतबीचको सम्बन्ध निकै प्रगाढ र राम्रो रहेको भन्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डमा दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे ।
गणतान्त्रिक व्यवस्थालाई सुदृढ पार्न आफूहरु लागिपरेको उल्लेख गरेका सभापति देउवाले नेपालमा राजसंस्था पुनर्स्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको दावी गरे ।
Leave a Reply