काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले चैते दसैँका अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।
नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा आईजीपी थापाले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाएका हुन् ।
साथै उनले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गरेका थिए ।
पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो ।
सङ्गठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।
Leave a Reply