काठमाडौं । दिनदिनै काठमाडौंको वायु प्रदुषण बढ्दै गएको छ । आज काठमाडौंलगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेपछि विज्ञहरुले यसबाट बच्न विभिन्न सुझाव दिएका छन् ।
वायु प्रदूषण कम नहुँदासम्म सातामा दुई दिन सार्वजनकि बिदा दिन र सवारी साधनमा जोर विजोर लागू गर्न विज्ञहरूले सुझाव दिएका हुन् ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरुमा देखिएको उच्च वायु प्रदूषणबारे छलफल गर्न बिज्ञहरुलाई बोलाएका थिए । उक्त छलफलमा उनीहरुले यस्तो सुझाव दिएका हुन ।
वन मन्त्रालय अन्तर्गत वातावरण विभागका विज्ञहरुले प्रदूषण नियन्त्रण गर्नको लागि देशका विभिन्न स्थानको आगलागी नियन्त्रणमा लिन सरकार गम्भीर बन्नुपर्ने बताएका थिए ।
वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्याङ्कअनुसार आज बिहान काठमाण्डौको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५६ छ । एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
काठमाण्डौ आज विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा परेको छ । आज सबैभन्दा धेरै प्रदुषण इराकको बगदाद रहेको छ । त्यहाँ आज बिहान एक्यूआई ११ सयभन्दा माथि पुगेको थियो । अहिले भने त्यहाँको एक्यूआई ६०७ पुगेको छ ।
पछिल्लो केही दिनदेखि काठमाण्डौमा प्रदूषण बढ्दा अस्पतालहरुमा बिरामीको चाप बढेको छ । स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न आग्रह गरेको छ ।
Leave a Reply