हरेक सफल व्यक्तिको जीवनमा संघर्ष अनिवार्य हुन्छ । कतिपय मानिसलाई सामान्य जीवनयापन गर्नका लागि समेत कठोर परिश्रम र त्याग गर्नुपर्छ । यस्तै एउटा प्रेरणादायी कथा हो, नेपाल प्रहरी निरीक्षक दीपक धामीको ।
उनले साढे तीन वर्षमै बुबा गुमाउनुपर्यो। बुबाको मृत्युले सानो उमेरमै उनलाई कठिनाइको सामना गर्न बाध्य बनायो । २०६९ सालमा प्रहरी जवान भएका उनी प्रहरी सहायक निरीक्षक हुँदै निरन्तरको मेहनत र संघर्षले अहिले प्रहरी निरीक्षक बनेर काम गरिरहेका छन् ।
प्रारम्भिक जीवन
२०४८ सालको कात्तिक महिनामा डोटी जिल्लाको तत्कालीन बरबाटा गाविस-१ (हाल शिखर नगरपालिका-११) सिमखोलीमा जन्मिएका दीपक धामीको बाल्यकाल संघर्षमय रह्यो । बुबा कर्णबहादुर धामी र आमा धनादेवी धामीका दोस्रो सन्तानका रूपमा जन्मिएका उनले साढे तीन वर्षमै बुबा गुमाउनुपर्यो। बुबाको मृत्युले सानो उमेरमै उनलाई कठिनाइको सामना गर्न बाध्य बनायो।
उनकी आमाले भैंसी तथा बाख्रा पालन गरी परिवारको गुजारा चलाइन्। दीपकले गाउँकै सिद्धनाथ प्राथमिक विद्यालय सिमखोलीबाट औपचारिक शिक्षाको थालनी गरे। कक्षा ६ देखि माध्यमिक तहसम्म राधाकृष्ण माध्यमिक विद्यालय, गोबघाटमा अध्ययन गरे।
उच्च शिक्षा र संघर्ष
एसएलसीपछि दीपक प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि सिताराम क्याम्पस, डोटीमा भर्ना भए । आर्थिक अभावका कारण पढाइमा कठिनाइ भए पनि उनले आफ्नो शिक्षा निरन्तर अघि बढाए । स्नातक तहमा प्रवेश गरेपछि शुल्क तिर्न समस्या हुन थाल्यो। आमाले पालेका बाख्रा र घ्यू बिक्री गरेर जेनतेन खर्च टारिरहेकी थिइन्।
यही क्रममा दीपकले क्रिस्टल बोर्डिङ स्कूल, गोबघाटमा पढाउने अवसर पाए । मासिक चार हजार रुपैयाँ पारिश्रमिक पाउने भएपछि उनले प्राइभेट रूपमा पढ्ने निर्णय गरे। शिक्षक पेशाबाट भएको आम्दानीले उनलाई केही सहज बनायो।
प्रहरी सेवामा प्रवेश
२०६९ सालमा गाउँका साथीहरू प्रहरी जवान भर्ना हुँदै गरेको देखेर दीपकले पनि प्रयास गरे। पहिलो प्रयासमै सफल भएका उनले २०७४ सालसम्म प्रहरी जवानको रूपमा सेवा गरे। यस क्रममा उनले प्रहरी सहायक निरीक्षक (असई) बन्ने तयारी थाले। घरमै अध्ययन गरी तेस्रो प्रयासमा प्रहरी सहायक निरीक्षकको परीक्षा पास गर्न सफल भए।
प्रहरी सहायक निरीक्षक भएपछि पनि उनले थप अध्ययन जारी राखे। स्नातकोत्तर तह पूरा गरिसकेका दीपकले प्रहरी निरीक्षकको परीक्षा तयारी गर्न थाले । पहिलो दुई प्रयास असफल भए पनि तेस्रो प्रयासमा उनी सफल भए र २०७९ सालमा नेपाल प्रहरी निरीक्षक बन्ने सौभाग्य प्राप्त गरे। हाल उनी जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन्।
उनलाई प्रहरी प्रधान कार्यालयले कदरपत्रसहित सम्मान पनि गरिसकेको छ । प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्ने गरी धामीले रचना गरेको नारालाई उत्कृष्ट ठहर गर्दै उनलाई हेडक्वार्टरले कदरपत्र प्रदान गरेको थियो ।
उनको “नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भुमिका” शिर्षकमा रचित उत्कृष्ट नारा “आँधी हुरी घाम होस चाहे परोस झरी, अपराध नियन्त्रणमा प्रतिवद्ध नेपाल प्रहरी” लाई उत्कृष्ट ठहर गरिएको थियो ।
यस्तै उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले यहीँ चैत ३ गते पनि अभिलेखमा जनिने गरी कदर स्वरुप नगदसहित पुरस्कृत गरेको थियो ।
संगठनको नीति निर्देशन अनुरूप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागिय अडर आदेशको पालना गर्नुका साथै आफुलाई दिइएको जिम्मेवारी पूर्ण ईमान्दारी, वफादारी, प्रशंसनिय एवम् अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । उनी हाल कैलालीमा अपराध नियन्त्रण तथा अनुसन्धानमा सक्रिय रुपमा खटिरहेका छन् ।
सफलता र प्रेरणा
दीपक धामी आफ्नो सफलता आफ्नै परिश्रम र आमाको संघर्षलाई श्रेय दिन्छन् । लोकसेवा तयारी गरिरहेका युवा-युवतीलाई उनी आत्मविश्वास, निरन्तर अभ्यास, र आफ्नो नोट बनाउँदै अध्ययन गर्न सुझाव दिन्छन् ।
उनको भनाइ छ, ‘संघर्षकै कारण म यहाँसम्म आइपुगेको हुँ। नेपालमै अवसर प्रशस्त छन् । विदेशिनु मात्र विकल्प होइन, देशमै केही गरेर देखाउन सकिन्छ ।’ प्रहरी निरीक्षक बनेपछि उनले आफ्नो परिवारको आर्थिक अवस्था सुधार गर्न सकेका छन् । समाजमा पहिचान र सम्मान पाउँदा उनी सन्तुष्ट छन् ।
दीपकले भने, “एउटा चट्टानको बिचबाट पिपलको बिरुवा उम्रिन सक्छ, त्यो चट्टानलाई फुटाएर बिरुवा उम्रिन सक्छ भने हामीले पनि संघर्ष गरेर आफ्नो मार्ग निर्माण गर्नै पर्छ। मेरो जस्तो पारिवारिक अवस्थाबाट अगाडि बढ्न सजिलो भने थिएन। घरमा खानलाउन समेत अप्ठ्यारो थियो। मामा घरबाट खाद्यान्न ल्याएर आमाले हामीलाई पाल्नुभएको हो। आमाको भाग्य के भनूँ, बाख्रा पाल्न सक्नु भएन भने पनि जीवन कठिन हुने थियो। तर, आमाले पालेका बाख्राले मात्र हाम्रो जीवन अघि बढेको हो । ‘केही नहुनेको भगवान हुन्छन्’ भन्ने भनाई मेरो जीवनमा ठीकै लागू भएको छ।”
दीपक भावुक हुँदै थप्छन्, ‘बुवा नभएकै कारण हामीलाई यस्ता कठिनाईहरू भोग्नु परे । म भन्दा अगाडि दिदी हुनुहुन्थ्यो र म अनि भाई, तीनजनाको पालनपोषण र शिक्षा दिन आमालाई निकै कठिनाई भइदिएको थियो। तर पनि उहाँले कसम खाएर संघर्ष गर्नुभयो र सफलता प्राप्त गर्नुभयो। त्यसै क्रममा आमाको इच्छा मलाई प्रहरी बनाउने थिएन। माओवादी जनयुद्धको समय उहाँलाई डर थियो कि प्रहरीमा गए के होला, तर परिस्थिति त्यस्तै आयो र प्रहरीमा सेवा गर्ने अवसर मिल्यो।’
‘प्रहरीमा प्रवेश गर्दा, सरकारी जागिर खाएका कारण आमाले खुशी मनाउनुभयो। त्यसभन्दा ठूलो खुशी तब भयो जब म प्रहरी सहायक निरीक्षक र पछि प्रहरी निरीक्षकसम्मको पदमा पुगे । उहाँलाई यो थाहा पाएपछि, आमाको खुशीको सीमा थिएन । भारत गएर मजदुरी गर्छ की भन्ने छोरो प्रहरी अफिसर भएर गाउँ आउँदा आमामा खुशीको सिमा रहेन,’ दीपकले भने ।
इन्स्पेक्टर धामीको जीवन यात्राले देखाउँछ कि कठिन परिस्थिति पनि दृढ संकल्प र निरन्तर मेहनतले जित्न सकिन्छ।
Leave a Reply