Online Nepal
  • बुधबार, २७ चैत्र २०८१
  • उपत्यकाबासीलाई किन भईरहेको छ आँखा पोल्ने, टाउको दुख्ने समस्या ?

    उपत्यकाबासीलाई किन भईरहेको छ आँखा पोल्ने, टाउको दुख्ने समस्या ?

    अनलाइन नेपाल
  • बिहिबार, २१ चैत्र २०८१
  • 171
    SHARES

    काठमाडौं । उपत्यकाको वायु प्रदुषण बिगत केही दिनदेखि बिग्रदै गएको छ । वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्याङ्कअनुसार आज बिहान काठमाण्डौको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५६ छ ।

    एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।



    काठमाण्डौ आज विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा परेको छ । आज सबैभन्दा धेरै प्रदुषण इराकको बगदाद रहेको छ । त्यहाँ आज बिहान एक्यूआई ११ सयभन्दा माथि पुगेको थियो । अहिले भने त्यहाँको एक्यूआई ६०७ पुगेको छ ।

    पछिल्लो केही दिनदेखि काठमाडौंमा वायु प्रदूषण बढ्दा अस्पतालहरुमा बिरामीको चाप बढेको छ । स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न आग्रह गरिसकेको छ ।

    वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसको आँखा, नाक पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने, स्वासप्रश्वासमा समस्या देखिन थालेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणबाट बच्नका लागि सकेसम्म अनावश्यक यात्रा र बिहानी हिडाई नगर्न बाहिर यात्रा गर्नै परेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन सुझाव दिएका छन् ।

    ‘वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी लगायतका अंगहरूमा गम्भीर असर पार्दछ । साथै, दम, क्यान्सर जस्ता नसर्ने तथा दीर्घ रोगहरूको जोखिम समेत बढाउँछ।’ मन्त्रालयले भनेको छ–वायु प्रदूषणले शारीरिक तथा मानसिक रूपमा कमजोर शिशु जन्मिने सम्भावना समेत उच्च रहन्छ। नेपालमा वायु प्रदूषणका कारण हरेक वर्ष हुने मृत्युमा विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, र जेष्ठ नागरिकहरू बढी जोखिममा पर्ने गरेका छन्। नेपालमा रोग र मृत्युदर वृद्धि गराउने प्रमुख कारणमध्ये वायु प्रदूषण पनि प्रमुख कारकका रूपमा देखिएको छ ।’

    मौसम विभागले काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार