काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोमा विरोध गरेको छ ।
मंगलबार पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु बदनियत पूर्वक रहेको बताएका हुन् ।
‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ’, माओवादीले भनेको छ, ‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’
त्यस्तै घिसिङलाई हटाइएको विषय बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर भ्रम छर्न खोजेको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘आमनागरिकमा भ्रम सिर्जना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौँ । यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा हार्दिक अनुरोध गर्दछु,’ सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Leave a Reply