Online Nepal
  • आइतबार, ३१ चैत्र २०८१
  • डीआईजीले हवल्दारमाथि किन साँधे प्रतिशोध ? आईजीपीकै आदेश टेरनन्

    डीआईजीले हवल्दारमाथि किन साँधे प्रतिशोध ? आईजीपीकै आदेश टेरनन्

    अनलाइन नेपाल
  • शुक्रबार, ८ चैत्र २०८१
  • 12.8K
    SHARES

    काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी कृष्णहरि शर्मा पोखरेलले तल्लो दर्जाका कर्मचारीमाथि प्रतिशोध साँध्न थालेका छन् ।

    प्रदेशको शान्ति सुरक्षातिर भन्दा आर्थिक संकलनमा बढी केन्द्रित हुँदैआएको आरोप लागेका डीआईजी शर्माले एक बरिष्ठ हवल्दारलाई प्रतिशोधपूर्ण ढंगले निलम्बन गरेका हुन् ।



    उनले प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत प्रहरी बरिष्ठ हवल्दार सुरेन्द्र साह तेलीलाई निलम्बन गरेका छन् । जिल्लाका चौकी र राजमार्गका पोष्टहरुमा अन्य जिल्ला र प्रदेशमा दरबन्दी भएका प्रहरीका जुनियर अधिकृतलाई काजमा खटाएर गाँजादेखि गाईगोरुको तस्करीको लाइन चलाउँदैआएका डीआईजी शर्मा पदको गरिमा नै बिर्सेर हवल्दारको जागिर खान तम्सिएका हुन् ।

    हवल्दार साहलाई प्रहरी प्रधान कार्यालयले दरबन्दी रहेको प्रहरी चौकी शिशाघाट तनहुँ पठाउन २०८१ फागुन २७ गते बागमती प्रदेश प्रहरी कार्यालयलाई निर्देशनपत्र पठायो । तर, डीआईजी शर्माले दरबन्दीमा नपठाई २०८१ चैत ३ गते बागमती प्रदेश प्रहरी गणमा कामकाज गर्नेगरी खटाएको पत्र पठाए ।

    आईजीपीकै निर्देशनबिपरीत डीआईजी शर्माले गणमा खटाएर मात्र नपुगी उनलाई अन्यत्र परिचालन गर्नुपरेमा प्रदेश कार्यालयको आदेश लिएर मात्र गर्न निर्देशन दिए ।

    बागमती प्रदेश प्रहरी गणमा खटाएको पत्र दिएको ३ दिन नबित्दै फागुन ६ गते डीआईजी शर्माले बरिष्ठ हवल्दार साहलाई विनाकारण निलम्बन गरेका छन् । प्रहरी ऐन नियममा प्रहरी आचरण र नैतिकताकै बर्खिलाप क्रियाकलाप गरेको भन्दै निलम्बन गरेका छन् ।

    डीआईजी शर्माको निर्देशनमा बागमती प्रदेश प्रहरी कार्यालयमा खटाई पठाउन जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई पत्राचार गरिएकोमा निजले पटक–पटक रवाना बुझ्न इन्कार गरेको जस्ता आरोप लगाइएको छ ।

    २०८१ फागुन २४ गते ईलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीको रवाना बुझेकोमा निज बाटोको म्याद बाहेक २४ घण्टाभित्र यस कार्यालयमा हाजिर हुन आउनुपर्नेमा कोही कसैलाई कुनै किसिमको जानकारी नगराई गैर हाजिर रहेकाले २०८१ फागुन २७ गतेको पत्रद्वारा जिल्ला प्रहरी कार्यालय बारालाई खोजतलासको लागि पत्राचार गरिएको र २०८१ चैत ३ गतेमात्र ८ दिन त आफूखुशी गैरहाजिर रही यस कार्यालयमा हाजिर हुन आएको हुँदा निजलाई प्रहरी आचरण व्यवहार विपरीत क्रियाकलाप गरेकाले निलम्बन गरेको पत्र जारी गरेका छन् ।

    फागुन ३ गते गणमा बागमती प्रदेशको गणमा खटाइएका बरिष्ठ हवल्दार साहलाई ३ दिनपछि नै निलम्बन गरिएको छ । डीआइजी शर्माले प्रहरी नियमावली, २०७१ को परिच्छेद १० को नियम ११५ को उपनियम (४) बमोजिम निलम्बन गरी आवश्यक छानबिन तथा अनुसन्धान पश्चात दोषी पाइएमा कारबाहीसमेत गर्नेगरी निलम्बन गरेका छन् ।

    १५ दिनभित्र हाजिर हुन नआएमा मात्र निलम्बन गर्ने अधिकार प्रदेश कार्यालयलाई छ । एक महिला प्रहरीको उक्साहटमा डीआईजी शर्माले बरिष्ठ हवल्दारमाथि प्रतिशोधपूर्ण कारबाही गरेको आरोप छ ।

    सिन्धुलीमा कार्यरत उनका बिरुद्ध शर्माले फर्जी उजुरी हाल्न लगाएर एक तल्लो दर्जाका प्रहरीमाथि प्रतिशोध साँधेको आरोप छ । स्रोतका अनुसार हबल्दार शाहले बिगतमा रातमाटे चेकपोष्टमा बस्दा सुन र चाँदी बरामद गरेर पुरस्कार समेत पाएका थिए ।  हबल्दार शाहलाई सुन र चाँदी बरामद नगरि सुचना दिएर सहयोग गर्न आग्रह गरेपछी शाहले इन्कार गर्दा डीआईजी शर्मा रुष्ट बनेका थिए ।

    डीआईजी शर्मा नै गैरब्यवसायिक आचरण भएका प्रहरीका उच्च अधिकारी रहेको उनले बागमती प्रदेश कार्यालयमा सरुवा हुनासाथ हरेक पोष्टमा बोलकबोल गरी खटाएका इन्चार्जहरुको सूचीेले नै पुष्टि गरेको थियो । उनले ५ महिना जागिर भएका सईलाई रातमाटे चेकपोष्टमा सरुवा गरी सेटिङमा गाँजा तस्करी गराउँदैआएको आरोप लागेको थियो ।

    लोथर चौकीदेखि जुगेडी र राजमार्गका अन्य पोष्टमा पनि उनले टेण्डर कबोल गरेर इन्चार्जदेखि जुनियर प्रहरी खटाएका थिए । पटक पटक भ्रष्टाचारदेखि बिभिन्न काण्डमा निलम्बनमा परेका प्रहरीका सईहरुलाई उनले आकर्षक मानिने रातमाटे, लोथर र जुगेडीमा खटाएका थिए ।

    रातमाटे र लोथरमा शर्माले टेण्डर कबोलेर खटाएका दुबै बरिष्ठ सई तानिए पनि जुगेडीका सई ठाकुर पनेरु भने अहिले पनि पूर्वपश्चिम जाने मालबाहक ट्रकदेखि गाई गोरु तस्करहरुसँग असुलीमा तल्लीन छन् ।

    चितवनदेखि हेटौंडाका जुवा अखाडादेखि नदीजन्य पदार्थको उत्खन्नदेखि ओसारपसार गर्नेहरुसँग पनि उनले मासिक दररेट तोकेर मनपरी गर्न छुट दिएका छन् । प्रदेश प्रहरीको कमाण्ड सम्हालेपछि डीआईजी शर्मा कमाउधन्दामा लिप्त रहेको आरोप छ ।

    डीआईजी शर्माले किन साँधे प्रतिशोध ? 

    डीआईजी शर्माले प्रतिशोधापूर्ण ढंगले निलम्बन गरेका बरिष्ठ हवल्दार साहले रातमाटे चेकपोष्टमा बस्दा १५ करोड रुपैयाँ बराबरको सामान बरामद गरी बुझाएका थिए । मकवानपुर प्रहरीका एक जुनियर अधिकृतका अनुसार साहले एकपटक अवैध ८ किलो २९० ग्राम सुन बरामद गरेका थिए भने अर्को पटक रातमाटे चेकपोष्टमा बस्दा १५ करोड रुपैयाँ बराबरको ४९१ ग्राम समातेका थिए ।

    डीआईजी शर्माले सुन बरामद किन गरेको, सुन बरामद नगरी आफूलाई मात्र जाहेर गरेर मिलाउनुपर्छ भन्दा पनि साहले बरामद गरेर राज्यको राजस्व बढाउने काम गरेका थिए । सुन बरामद गरेबापत पुरस्कृत हुनुपर्ने साहलाई सरुवा गरी सिन्धुलीको भीमानमा लखेटेका डीआईजी शर्माले गाँजा बरामद गर्ने रातमाटेका असई नवीनबिक्रम थापालाई रसुवा खेदेका थिए । थापालाई अदालतको बकपत्रमा समेत आउन नदिएका शर्माले पुरस्कृत गर्नुपर्ने प्रहरीलाई लखेटेर बदनामहरुलाई काजमा ल्याउँदै तस्करीदेखि जे गरेर भए पनि मासिक टेण्डर बुझाउनेगरी पठाएका थिए ।

    निज प्रह सुरेन्द्र साहले भिमानमा गएपछि ५ जना लागूऔषध कारोबारी पक्राउ गरे । २ जना फरार भएकालाई पनि पक्राउ गरेका थिए । डेढ करोडको हिरा र सुन बरामद गरेका साहलाई भिमानका इन्चार्ज टंकबहादुर कार्कीले २ महिनाअघि पुरस्कृत गरेका थिए । राम्रो काम गरेबापत पुरस्कृत भएका साहलाई भिमानका इन्स्पेक्टर कार्कीले रमाना नदिएकाले उनी खटाएको कार्यालयमा नगएको भिमानकै प्रहरी स्रोत बताउँछ ।

    सुन हिरा जस्ता बहुमूल्य पदार्थ बरामद नगरी डीआईजी शर्मालाई बुझाउनुपर्ने, प्रदेशबाटै गाँजा तस्करीको सेटिङ भएकाले बरामद नगर्नू भनेको नमान्दा काम गर्ने प्रहरीलाई निलम्बन गरेर कस्तो मत्स्यन्याय चरितार्थ गर्न खोजेका हुन्, डीआईजी शर्माले ? भन्ने प्रश्न उठेको छ । डीआईजी शर्माले प्रतिशोधपूर्ण गरेको कारबाहीका बारेमा गृहमन्त्री रमेश लेखकले समेत ध्यान दिनु जरुरी भएको प्रहरी स्रोत बताउँछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार