काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै भएको छ ।
त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो ।
बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतदानका लागि भित्र छिरेकाले भने भोट हाल्न पाउने छन् ।
आज दुई वटा क्याम्पसमा चुनाव रोकिएको छ । मतदान सुरु भएर पनि ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ ।
अधिकारीका अनुसार पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ । पाटनमा सहमतिको प्रयास भइरहेको छ ।
त्रिविका ६४ वटा अंगिक क्याम्पसमध्ये ३८ वटामा आज चुनाव भएको र नभएका क्याम्पसमा सहमतिको प्रयास जारी रहेको उनले बताए ।
त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कतिवटा क्याम्पसमा चुनाव भयो यसबारे विवरण संकलन भइरहेको त्रिविले जनाएको छ ।
नेविसंघले भन्यो–तालाबन्दी तोडेर रोकिएका क्याम्पसमा निर्वाचनको वातावरण बनाउनू
नेपाल विद्यार्थी संघले निर्वाचनका क्रममा विभिन्न क्याम्पसहरूमा भिन्नभिन्न कारण देखाई तालाबन्दी हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध हुनगएको बिषयप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाका दौरान सृजना भएका समस्यालाई स्वाभाविक रुपमा ग्रहण गर्दै उचित समाधान सहित मतदानको सुनिश्चितता गर्न माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ–‘नेपाल विद्यार्थी संघ लोकतान्त्रिक प्रक्रियाको पक्षधर संगठन मात्र नभई पहरेदार भएको नाताले पनि निर्वाचन प्रक्रिया सहज बनाउन प्रतिबद्ध छ । निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला विभिन्न संघ–संगठन, समूह र स्वतन्त्र उम्मेदवारहरु द्वारा गरिएका तालाबन्दी तोडेर जुनसुकै बहानामा गरिएको भएतापनि निर्वाचनको वातावरण सहज बनाउन र सम्बाद मार्फत समस्या सुल्झाउन सम्बद्ध सवै पक्षलाई हार्दिक आव्हान गर्दै ने।बि।संघ मातहतका विभिन्न इकाई एव आवद्ध बिद्यार्थी नेता साथीहरु समेतलाई यसै बिज्ञप्ति मार्फत निर्देशन गरिन्छ ।’
स्ववियु निर्वाचनलाई भयमुक्त, शान्तिपूर्ण, निष्पक्ष, र लोकतान्त्रिक ढंगले सम्पन्न गराउनका लागि सबै सरोकारवालाहरूलाई आरोप–प्रत्यारोप नगरी भएका कमजोरीलाई आत्मसाथ गर्दै संयमित भई निर्वाचन प्रक्रियालाई अवरुद्ध गर्ने कार्यहरू नगर्न, नगराउन र गर्न नदिन आग्रह गरेका छन्।
Leave a Reply