काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले भारतको उक्साहटमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनी पक्षधरले नेपालको गणतन्त्र कमजोर बनाउने उद्देश्यसहित चलखेल बढाएको निष्कर्ष निकालेको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै त्यस्तो निष्कर्ष निकालेको हो ।
कसैको उक्साहट नभएको भए यो बेलामा राजतन्त्र वा राजा फर्काउने भनेर गतिविधि बढ्ने नै थिएन भन्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘पूर्वराजा शाह र उनी पक्षधरको पछिल्लो सक्रियता र चलखेल कसैको उक्साहट र सुनियोजित ढङ्गले गणतन्त्र कमजोर बनाउने प्रयास भइरहेको छ’ भन्ने एमालेको निष्कर्ष भएको बताइन् ।
‘हाम्रो पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ’, एमालेले भनेको छ–‘संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न हामी प्रतिबद्ध छौं । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन पनि हामी सङ्कल्पित छौं ।’
गत फागुन ७ का अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र २५ फागुनमा राजावादीहरूले गरेको प्रदर्शनपछि तरङ्गित बनेको नेपाली राजनीति स्थिर हुन सकेको छैन ।
पूर्वराजा शाह पोखराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको बाक्लो भीड देखेका राजावादीहरू हौसँदै पुन राजसंस्था र हिन्दु राष्ट्र फर्काउन सकिने भन्दै पूर्वपञ्चहरु एकत्रित हुने प्रयास गरिरहेका छन् । त्यसका लागि उनीहरुले पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा समिति नै गठन गरेको बताएका छन् ।
Leave a Reply