काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले साइत नहेरी प्रहरीमा सुधारको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार बिहान गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह शुभोभनपछि बोल्दै उनले सबैसँग सहकार्य गरी तत्कालै सुधार थालिने बताए।
महानिरीक्षक थापाको कार्यकाल करिब साढे ५ महिना रहेको छ। छोटो अवधि भएपनि आफुले सकेसम्म धेरै काम गर्ने उनको भनाई छ।
थापाले सुधारका लागि साइत नकुर्ने बताएपनि कार्यान्वयन भने त्यती सहज छैन । उनको कार्यकाल चनुौतीपूर्ण नै हुने देखिन्छ ।
यस्ता छन् थापाका मुख्य ५ चुनौती
१. सरुवा–बढुवामा निष्पक्षता
महानिरीक्षक थापाको पहिलो परीक्षण सरुवा–बढुवामा हुनेछ। हाल नेपाल प्रहरीमा एआइजीमा ६ तथा डिआइजीमा १० जनाको बढुवा हुँदैछ । रिक्त हुने पदमा उनले कत्तिको न्यायोचित मूल्याङकन गर्न सक्छन्, त्यसबाट उनको पहिलो परीक्षण सुरु हुनेछ। टक्करका कारण बढुवा लम्बिन सक्ने भएकाले उचित समन्वय गर्नु समयमै निष्पक्ष रुपमा बढुवा निकाल्नुपर्ने हुन्छ।
साथै सरुवा पनि चुनौतीपूर्ण छ । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबिचको टक्करले १४ महिनासम्म एसपीको सरुवा हुन सकेको छैन । केही एसपीहरु पुरानो मापदण्ड संशोधन गराउने प्रयासमा समेत लागेका छन्। दबाब र प्रभाव झेलेर उनले सरुवा गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ पहुँच नहुने प्रहरीमाथि सरुवा–बढुवामा अन्याय हुँदै आएको छ। त्यस्ता प्रहरीको संरक्षण गर्नुपर्ने दायित्व उनीमाथि छ ।
२. प्रहरी ऐनमा समन्वय
थापाको अर्को जिम्मेवारी प्रहरीलाई कानूनी रुपमा बलियो बनाउने हो। हाल संसदमा पुगेको प्रहरी बिधेयकमा प्रहरीलाई परिचालन समेत गृह मन्त्रालयले गर्ने उल्लेख छ । यसले प्रहरीको चेन अफ कमाण्डमै असर पार्ने भन्दै चर्को विरोध भइरहेको छ ।
अर्कोतर्फ नेपाल प्रहरीको कार्यक्षेत्रसँग बाँझिने गरी सशस्त्र प्रहरीलाई पनि अधिकार दिन लागिएको विषयले असमझदारी बढेको छ । यी विषयलाई कुटिल रुपमा उनले प्रहरीको हितमा अघि बढाउनुपर्ने हुन्छ ।
३. अनुसन्धानमा दबाब झेल्ने
उच्च पदस्थ जोडिएका घटनाको अनुसन्धानमा पछिल्लो समय प्रहरीले निष्पक्ष अनुसन्धान गर्न नसकेको आरोप लागेको छ । सत्तापक्षलाई जोगाउने अन्यको हकमा अधिक अपराधीकरणको प्रयास भइरहेको छ ।
अनुसन्धानलाई दबाबमुक्त बनाउनु नयाँ आइजिपीको अर्को चुनौती हो । कांग्रेस उपसभापति धनराज गुरुङदेखि विभिन्न उच्चपदस्थमाथि जारी अनुसन्धानमा निष्पक्ष भएर काम गर्नुपर्ने दायित्व महानिरीक्षक थापाको छ ।
४. प्रहरीको मनोबल बढाउने
प्रहरीमा मनोबल यतीबेला निकै खस्किएको छ । तल्लो तहका धेरै जसो प्रहरी पेन्सन अवधि पुगेलगत्तै राजीनामाको मानसिकतामा छन्। सेवा सुविधा थोरै तथा १६ घन्टासम्म डिउटी गर्नुपर्ने बाध्यताका कारण प्रहरी कर्मचारीमा मनोबल खस्किएको छ । तल्लो तहका प्रहरीले थापासँगै धेरै अपेक्षा गरेका छन्।
५. स्रोत साधन बढाउने
स्रोत साधनको अभावमा पछिल्लो समय प्रहरीको अनुसन्धान समेत प्रभावित बन्ने अवस्था छ । मोबाइल फरेन्सिक ल्याबमा परीक्षण संख्या बढेअनुसार उपकरण नहुँदा दुई वर्षमा पनि रिपोर्ट नआउने अवस्था छ ।
प्रहरी कर्मचारीले पनि रासनदेखि ब्यारेकसम्म आधारभुत सुविधा पाएका छैनन् । यसमा लबिइङ गर्नुपर्ने चुनौती महानिरीक्षक थापालाई छ ।
विगतमा आईजीपीलाई प्रतिस्पर्धीहरुले नै असहयोग गर्दथे । तर, यसपटक प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेकबहादुर तामाङले उनलाई साथ दिएका छन् । जसकारण काम गर्न उनलाई सहज हुने अवस्था छ ।
Leave a Reply