Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • आफन्तबाटै बलात्कृत १२ वर्षीया बालिकाको स्वास्थ्य जटिल बन्दै, अरोपी अझै फरार

    आफन्तबाटै बलात्कृत १२ वर्षीया बालिकाको स्वास्थ्य जटिल बन्दै, अरोपी अझै फरार

    न्याय नपाउने चिन्तामा आफन्त, प्रहरीले वेवास्ता गरेको गुनासो

    पूर्ण बहादुर साउद
  • मंगलबार, ५ चैत्र २०८१
  • 1.7K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाकी १२ बर्षिया बलात्कृत बालिकाको अवस्था झन जटिल बन्दै गएको छ । पेटमा करिब ८ महिनाभन्दा बढीको गर्भ रहेकी ती बालिकाको अवस्था जटिल बन्दै गएको हो ।

    भारतको गुजरातमा मामा नाता पर्ने पुरुषबाटै बलात्कारको सिकार भएकी बालिका अहिले गम्भीर स्वास्थ्य जटिलताको सामना गरिरहेकी छिन् । उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ‘ओसिएमसी’मा राखिएको छ ।



    गत फागुन ११ गते अनलाइन नेपालले ‘अछामकी १२ वर्षीया बालिका बलात्कृत, ५ महिनाको गर्भ रहेको खुलेपछि घटना बाहिरियो’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यसपछि विभिन्न राष्ट्रिय सञ्चार माध्यमदेखि संसदमा पनि ती बालिकाको न्यायका लागि आवाज उठेको थियो ।

    तर घटना बाहिरिएको एक महिनाभन्दा बढी हुँदा पनि आरोपित फरारै अवस्थामा छन् भने किशोरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । परिवारका सदस्य न्यायका लागि भौतारिरहेका छन् ।

    अछामको ग्रामीण भेगकी ती बालिका रोजगारी गर्न भारत पसेका आमा बुवासँगै गएकी थिइन् । तर उनी त्यहीँ मामा नाता पर्ने पुरुषबाटै बलात्कृत भइन् । उनीमाथि त्यहाँ धम्की दिएर पटक-पटक बलात्कार भएको बालिका नै बताउँछिन् ।

    आफूमाथि पटक–पटक बलात्कार हुँदा पनि डर र धम्कीका कारण बालिकाले परिवारलाई घटनाबारे भन्न सकेकी थिइनन् । त्यस लगत्तै बालिकाका आमाबुवा घर फर्किएका थिए । घरमा ती बालिकाको अस्वाभाविक रूपमा पेट बढ्न थाल्यो ।

    सुरुमा परिवारका सदस्यले भारतबाट फर्किएका कारण स्वास्थ्यमा परिर्वतन आएको हुनसक्छ भन्दै खासै चासो राखेनन् । पछि झनझन पेट र शरिरको बनावट परिवर्तन हुन थालेपछि परिवारका सदस्यले उनको स्वास्थ्य जाँचका लागि बयालपाटा अस्पतालमा लगे ।

    पिसाब जाँच गरेपछि ती बालिकाको पेटमामा २५ हप्ताभन्दा बढी समयको गर्भ रहेको रिपार्ट अस्पतालले आफन्तको हातमा थमायो । त्यसपछि बयालपाटा अस्पतालले बालिकालाई जिल्ला अस्पताल अछाम रेफर गर्‍यो ।

    उनको गर्भ रहेको समय धेरै भइसकेको भन्दै थप उपचारका लागि जिल्ला अस्पतालले पनि धनगढीको सेती प्रादेशिक अस्पताल पठायो । उक्त अस्पतालले पनि गर्भपतन गर्न मिल्दैन भनेपछि आफन्तहरु समस्या परेका थिए । अहिले बच्चा जन्माउने समय पुगेका कारण  गर्भवती बालिकाको स्वास्थ्य अवस्थामा जटिलता रहेको छ ।

    यता बालिकाका परिवार न्याय खोजिरहेका छन् । आफूहरुले जिल्ला प्रहरी कार्यालय अछाममा जबरजस्ती करणी मुद्धा दर्ता गराए पनि अहिलेसम्म आरोपित पक्राउ पर्न नसकेको पीडित बालिकाका एकजना आफन्तले गुनासो गरे ।

    उनले भने, ‘हामी जस्तो गरिबहरुले न्याय नपाउने देखियो । बालिकाको अवस्था झनझन विग्रिदो अवस्थामा छ । बालिकाको ज्यान बचाउन पनि गाह्रो देखियो । प्रहरीले आरोपितलाई पक्राउ गर्न धेरै चासो नदिएको हामीलाई अनुभव भएको छ । इन्टरपोलमार्फत भए पनि आरोपित पुरुषलाई समात्नु पर्‍यो । हामीलाई न्याय चाहियो ।’

    यता प्रहरीले भने मुद्धा दर्ता भएको डेढ महिनासम्म पनि आरोपित बारे कुनै जानकारी पाएको छैन । प्रहरीले बालिकाका आफन्तलाई र नजिकका मान्छेहरुलाई भारतको कुन ठाउँमा आरोपित रहेको छ त्यसबारे जानकारी भए दिनु भनिरहेको छ ।

    साथै जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जय पार्कीका अनुसार इन्टरपोलमार्फत रेड नोटिस जारी गर्नु भन्दै पत्र पठाइएको छ । तर अहिलेसम्म रेड नोटिस बारे जानकारी आइनसकेको बताइएको छ । आरोपितलाई पक्राउ गर्न प्रयास गरिरहेको अछाम प्रहरीको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार