काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय दुई सातादेखि नेतृत्वविहीन छ। त्यहाँ कार्यरत जनक भट्टराईको एआईजीमा बढुवा भएपनि गृह मन्त्रालयले नयाँ डीआईजी खटाएको छैन ।
स्रोतका अनुसार कर्णाली जान कोही डीआईजी तयार छैनन् । जसकारण सरुवा हुन नसकेको हो । केही दिनमै सबै प्रदेश रिक्त हुने सम्भावना भएकाले अन्य प्रदेश जानका लागि भनेर कोही पनि कर्णाली जान नमानेका हुन् ।
सोमबारदेखि गण्डकी प्रदेशका डीआईजी भोला रावल तथा सुदुरपश्चिमका गणेश चन्दले पनि आईजीपी बसन्तबहादुर कुँवरसँगै अवकाश पाउँदैछन् ।
कोशी प्रदेशका राजन अधिकारी, लुम्बिनीका दानबहादुर कार्की, मधेसका लालमणि आचार्य, बागमतीका कृष्णहरी शर्मा समेत एआईजी बढुवाको दाबेदार भएकाले ती प्रदेशको नेतृत्व पनि खाली हुने सम्भावना छ ।
जसकारण प्रदेश जानका लागि अहिलेदेखि नै मारामार सुरु भइसकेको छ । प्रदेशमा सरुवा र एआईजीको बढुवासँगै अघि बढाउने गृह मन्त्रालयको तयारी छ । मंगलबारदेखि एआईजीका ६ पद रिक्त हुँदैछन् ।
जसमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा, दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी तथा शिद्धिबिक्रम शाह मुख्य दाबेदार छन् ।
यही बढुवाले प्रहरीमा भावी नेतृत्वको तय गर्ने भएकाले पनि एआईजी बढुवामा तिव्र टक्कर छ । उनीहरुमध्ये दानबहादुरको ब्याच २०५४ मा भर्ना भएको थियो भने शिद्धिबिक्रमको ब्याच २०५३ मा भर्ना भएको हो ।
शिद्धिबिक्रमको ब्याचबाट आईजीपी भएपछि पनि दानबहादुरको ब्याचबाट आईजीपी हुने भएकाले यसपटक २०५३ को ब्याचलाई एआइजीमा अघि तान्ने सम्भावना समेत रहेको स्रोत बताउँछ । किनकी रवि लामिछाने गृहमन्त्री छँदा शाहको व्याचलाई छुटाइएको थियो।
त्यस्तै, डीआईजीहरु उमा चतुर्वेदी, हिमालय श्रेष्ठ, डम्बर बिक, सुशिलसिंह राठौर, दिनेश आचार्य , ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट, गोविन्द थपलिया लगायत भने सके एआइजी हुने र नभए प्रदेश जाने रणनीतिमा छन्।
Leave a Reply