काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै मुख्य सचेतक बर्तौलाले सो कुरा बताएका हुन् । उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे।
पूर्वराजा शाहको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै दण्डनीय भएको बताए ।
मुख्य सचेतक बर्तौलाले भने,‘पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन् । पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन्।’
विशेषगरी भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्याली भइरहेको भन्दै कानुनी दायरामा ल्याउन उनले आग्रह गरे।
संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने वा देख्न लगाउनेहरू सचेत हुनुपर्ने उनले बताए ।
Leave a Reply