Online Nepal
  • मंगलबार, २ बैशाख २०८२
  • केआईआईटीमा प्रकृतिको आत्महत्या प्रकरण : नेपाली विद्यार्थी नहुँदा परीक्षा सार्ने तयारी

    केआईआईटीमा प्रकृतिको आत्महत्या प्रकरण : नेपाली विद्यार्थी नहुँदा परीक्षा सार्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ११ फाल्गुन २०८१
  • 549
    SHARES

    काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको मृत्युपछि सिर्जित परिस्थितिका कारण अधिकांश नेपाली विद्यार्थीहरुले कलेज छाडेका छन् ।

    केआईआईटीकी नेपाली विद्यार्थी प्रकृति लम्साल आत्महत्या प्रकरणमा विद्यार्थीहरुले अन्दोलन चर्काएपछि विश्वविद्यालयले विद्यार्थीहरुलाई नेपाल फर्किन दाबाब मात्र दिएको थिएन, ज्यादती समेत गरेको थियो । यद्यपी आन्दोलनमा भारतीय विद्यार्थी समेत सहभागी थिए ।



    सुरुमा नेपाली विद्यार्थीहरुलाई आ–आफ्नो सामानहरू समेत लिएर घर फर्किन उर्दी जारी गरेको विश्वविद्यालयले पछि भने सामान यतै राखेर आफू मात्रै स्वदेश फर्किन भन्दै नोटिस जारी गरेको थियो । यद्यपी चौतर्फी दबाबपछि विश्वविद्यालयले घर फर्किन लागेका नेपाली विद्यार्थीलाई कलेज फर्किन भन्दै अर्को अनुरोध गरेको थियो ।

    नेपाली विद्यार्थीमाथि शिक्षालयभित्रै चरम ज्यादती गरेको विश्वविद्यालयले माफी समेत मागिसकेको छ । केआईआईटीमा १ हजार १६९ नेपाली विद्यार्थी पढ्दै आएकोमा अहिले १८२ जना विद्यार्थी मात्रै छन् । यद्यपि, उनीहरु पनि भर्खरै कलेज फर्किएको दिल्लीस्थित नेपाली दूतावासबाट ओडिसामा खटिएका कन्सुलर सञ्जीव शर्मा दासका जनाएका छन् ।

    घटनापछि विभिन्न ठाउँमा गएका विद्यार्थीहरुलाई कलेज प्रशासनले फर्काइदिन भनेर अभिभावकलाई समेत इमेल लेखेपछि उनीहरु फर्किएका हुन् । यद्यपि, एक विद्यार्थीका अनुसार, भारतमै रहेकाहरु फर्किइरहे पनि नेपालसम्म आएकाहरु अझै फर्किन तयार छैनन् । उनीहरुले निष्पक्ष छानबिन, कम्प्युटर साइन्सका निर्देशकमाथि अनुशासनको कारबाही लगायतका विभिन्न बुँदे माग राखेका छन् ।

    नेपाली विद्यार्थीहरुको मनस्थिति बुझेपछि केआईआईटीले आगामी सेमेस्टरको परीक्षा पनि सार्ने भएको छ । ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजले प्रदेशसभामा बोल्दै आवश्यकताअनुसार परीक्षाको नयाँ मिति तोकिने भनेका छन् । उनले भनेका छन्–‘सरकारले नेपाली विद्यार्थीलाई भविष्यमा केआईआईटीबाट कुनै समस्या नहोस् भन्ने विषयलाई विशेष प्राथमिकता दिनेछ ।

    केआईआईटीको गर्ल्स होस्टलको कोठामा गत आइतबार रुपन्देही स्थायी घर भएकी नेपाली विद्यार्थी २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । कलेज प्रशासनले उनले आत्महत्या गरेको भन्दै यो प्रकरणलाई सामान्यीकरण गर्न खोजेको थियो ।

    लम्सालले दुई पटक आफूमाथि बीटेक तेस्रो वर्षमा पढ्ने २१ वर्षीय अड्विक श्रीवास्तवले मानिसक यातना दिइरहेको भन्दै इन्टरनेश्नल रिलेशन अफिसर (आईआरओ) लाई निवेदन दिएकी थिइन् । पहिलो पटक उनलाई केही दिन कलेजले निलम्बनमा राख्यो । तर, अड्वीकले उनलाई यातना दिन छाडेनन् । फेरि उनले आईआरओलाई निवेदन दिइन् । प्रशासनले अझै गम्भीरतापूर्वक नलिँदा लम्सालको ज्यान गएको नेपाली विद्यार्थीहरुको भनाई छ ।

    प्रकृतिको मृत्यु भएको जानकारी पाएलगत्तै आरोपी श्रीवास्तव आइतबार राति नै भागेर घरतिर जान खोजेका थिए । कलेजका नेपाली विद्यार्थीहरुले त्यसबारे थाहा पाएसँगै हल्लीखल्ली गरेका थिए । त्यसक्रममा उनले राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाताको सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल जानलाई टिकट काटेको फेला परेको थियो । तर, विद्यार्थीको प्रदर्शन र दबाबबीच उनको टिकट रद्द भयो भने प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेको थियो ।

    विद्यार्थीमाथि कलेजको ज्यादती

    यो घटना अहिले प्रकृतिको मृत्यु र अनुसन्धानमा मात्र सीमित छैन । प्रकृतिको मृत्युपछि न्याय माग्ने विद्यार्थीहरुलाई कलेजले गरेको दमनले सामाजिक सञ्जाल तातेको छ ।

    न्याय माग्नेहरुमाथि लाठी बर्साउन आदेश दिने कलेजका अधिकारीहरुमाथि प्रश्न उठेको छ । यो घटनाले ओडिसाको अन्तर्राष्ट्रिय छविमै असर गरेको भन्दै ओडिसाको विधान सभामा समेत प्रश्न उठेको छ । संसदमा कुरा पुगेपछि प्रदेश सरकारले छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

    अहिले विद्यार्थीलाई कुटपिटमा संलग्न केही पक्राउ पनि परेका छन् । कलेजका एक जना नेपाली विद्यार्थीका अनुसार, त्यहाँ अधिकारीहरुले कलेजका साखमा असर पर्ने भन्दै लम्साल मृत्यु प्रकरणलाई ढाकछोप गर्न खोजेका थिए । त्यही कारण विद्यार्थीले प्रदर्शन गर्दा उनीहरुको माग सम्बोधन गर्नु साटो कलेजका सुरक्षाकर्मी प्रयोग गरेर उल्टै पिट्ने र तर्साउने काम गरेका थिए ।

    गत सोमबार दिउँसो केआईआईटी प्रशासनले सूचना नै जारी गरेर नेपाली विद्यार्थीलाई कलेज र होस्टल छाडेर जान उर्दी जारी गरेको थियो । नेपाली विद्यार्थी बसेको कोठा कोठामा पुगेर बाउन्सरहरुले ढक्ढक्याउँदै विद्यार्थीलाई निकालेका थिए । प्रतिवादी गर्दा लाठीले विद्यार्थीहरुलाई हानेको थियो । त्यसपछि नेपाली विद्यार्थीहरु झन् समस्यामा परेका थिए ।

    केआईआईटीले माग्यो माफी

    नेपाली विद्यार्थीको शंकास्पद मृत्युको अनुसन्धान र न्यायको माग गर्ने विद्यार्थीमाथि दमन भएको घटनामा केआईआईटीले विद्यार्थी तथा अभिभावकसँग माफी मागेको छ ।

    घटनाको चौतर्फी विरोध र नेपालका साथै भारतभित्रबाटै दबाब बढाइएपछि केआईआईटीले माफी मागेको हो । कलेजका संस्थापक, उपकुलपति र रजिस्ट्रारले उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्नुका साथै क्षमा मागेका छन् । त्यसपछि क्रमशः नेपाली विद्यार्थी कलेज फर्किन थालेका हुन् ।

    कलेजका संस्थापक अच्युत सामन्तले परराष्ट्रमन्त्री आरजु राणा देउवा र नयाँदिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मासँगको टेलिफोन कुराकानीमा घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीले उठाएका विषय र शैक्षिक समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार