काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा संसद्मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका भएको बैठकमा अध्यादेशबारे गहन छलफल भएको हो ।
सरकारले सहकारीसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, निजीकरण (पहिलो संशोधन), आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको थियो ।
तर राष्ट्रिय सभाबाट भूमिसम्बन्धी अध्यादेश पारित हुने सम्भावना नभएपछि संसद्मा अध्यादेश पेस हुन सकेको छैन । जनता समाजवादीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि सरकारले संसद्मा अध्यादेश पेस गर्न डराएको छ ।
उच्चस्तरीय संयन्त्र बैठकमा सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
Leave a Reply