काठमाडौं । आगामी चैतदेखि नेपाल प्रहरीमा सुरु हुन लागेको ‘पुलिस लिडरशीप एण्ड स्टाफ कलेज’ को विषयलाई लिएर प्रहरीमा दुई धार देखिएको छ।
केहीले यसको स्वागत गरेका छन् भने केही भने रोक्ने अभियानमै लागेका छन् । प्रहरी प्रधान कार्यालयले २०७० को चैतमा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु गर्ने निर्णय गरिसकेको छ ।
जसका लागि प्रवेश परीक्षाको प्रक्रिया समेत सुरु भइसकेको छ । पहिलो पटकको प्रवेश परीक्षाका लागि एक सय ३१ प्रहरी अधिकारीको नाम सार्वजनिक भइसकेको छ ।
२०७० सालको इन्सपेक्टरको टोलीका एक सय ४४ मध्ये ६५ जना डिएसपी छन्। बाँकी ७९ जनामध्ये ७५ जनाको केही दिनमै बढुवाको तयारी छ । बढुवाको प्रतिस्पर्धीहरु एकातर्फ बढुवाको दौडधुपमा लाग्नुपरेको छ भने अर्कोतर्फ प्रवेश परीक्षाको तयारीमा पनि छन् ।
केही प्रहरी अधिकारी भने कुनै पनि कानूनले स्टाफ कलेजलाई नचिनेको भन्दै यसविरुद्ध मुद्दा दायर गर्ने तयारीमा समेत लागेका छन् ।
तर, संगठनको दीर्घकालिन हितलाई ध्यानमा राखेर प्रहरी नेतृत्वले ल्याएको यो कोर्सविरुद्ध लाग्दा कारबाहीमा पर्न सक्ने भएकाले उनीहरु वकिल लगाउने तयारी गरेका छन्।
मंगलबार संसदमा पुगेको प्रहरी बिधेयकमा स्टाफ कलेजसम्बन्धि प्रावधान राखिएकोछ । जसमा स्टाफ कलेज नगरेकाहरु डिआइजीभन्दा माथिल्लो तहमा बढुवा नहुने उल्लेख छ ।
एसपी र एसएसपीमा पनि बढुवा दोस्रो लटमा मात्र हुने सम्भावना छ । प्रहरीमा अध्ययनशील रहेका तर सोर्सफोर्स नभएका अधिकृतहरुले यसको स्वागत गरेका छन्।
तर, शक्तिकेन्द्र निकट रहेका केही अधिकृतहरु भने रोक्ने षड्यन्त्रमा लागेका छन् । कतिपय हाल आकर्षक इन्चार्जमा खटिएकाले अहिले स्टाफ कलेजमा जानुपर्दा त्यो अवसर गुम्ने भएकाले उनीहरु पनि यसको विपक्षमा देखिएका छन्।
Leave a Reply