काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक अस्वीकार्य भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले यसअघिको सरकारले उक्त विधेयक ल्याउँदा कांग्रेसले विरोध गरेको भन्दै आफू कांग्रेसको प्रवक्ता छँदा बोकेको दृष्टि महामन्त्री हुँदा नबदलिने प्रस्ट पारे ।
उनले भनेका छन्,‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । प्रतिपक्षमा हुँदा उठाएको आवाज, सत्तामा हुँदा विलीन हुँदैन ।’
उनले अहिले पार्टीमा आफ्नो भूमिका बदलिएपनि महामन्त्री शर्माको सामाजिक सञ्जाल विधेयकबारे दृष्टिकोण नबदलिएको बताएका छन् ।
‘ढुक्क रहोस् देश– दृष्टि बदलिन्नँ, विधेयक बदलिन्छ’, शर्माले थप भनेका छन्, ‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता–प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिकपंक्तिबिच गहन संवाद जरुरी छ । स्वतन्त्रताका नाममा तथ्यहिन आरोप, फेक आइडि, अश्लील पोस्ट, अमर्यादित ब्यवहार अनि ‘डिसिन्फर्मेसन र मिसइन्फर्मेसन’ को अराजकता नियन्त्रण सबैको साझा सहमति बन्नुपर्नेछ नै । तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म भने विधेयक ठाडै अस्वीकार्य हिजो जसरी थियो, आज पनि त्यसरी नै अस्वीकार्य छ ।’
उनले यसअघि पनि सो विधेयको विरोध गर्दै विज्ञप्ति नै जारी गरेका थिए । अहिले सो विज्ञप्ति भाइरल भइरहेको छ । सो विषयमा महामन्त्री शर्माले मुख खोलेका हुन् ।
Leave a Reply