काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
सहिद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
साथै उनले बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना व्यक्त समेत गरेका छन्।
माघ १६ नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो।
अध्यक्ष दाहालले यस दिनलाई देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदहरूको सपना र लिएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गरेका छन्।
राज्यकै तहबाट सहिद दिवस मनाइरहँदा सहिदहरुको योगदानको कदर गर्दै सहिद परिवारहरूको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै सहिदहरुप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ।
नेपालका प्रथम सहिद लखन थापामगरदेखि जहानिया राणाकालविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनविद्रोह, जनआन्दोलन, पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण सशस्त्र आन्दोलन र विभिन्न जनसङ्घर्षको बलमा नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गर्न सम्भव भएको हो।
Leave a Reply