Online Nepal
  • बुधबार, ७ फाल्गुन २०८१
  • अछाम घटना : सिआइबीको सहयोगमा अनुसन्धान हुँदै, प्रदेशबाट पनि टोली खटाइयो

    अछाम घटना : सिआइबीको सहयोगमा अनुसन्धान हुँदै, प्रदेशबाट पनि टोली खटाइयो

    पोस्टमार्टम सकियो, रिपोर्ट आउन बाँकी

    अनलाइन नेपाल
  • मंगलबार, १५ माघ २०८१
  • 1.7K
    SHARES

    अछाम । अछाममा शनिबार मृत फेला परेका ढकारी गाउँपालिका-८ पल्सांताका १४ वर्षीया इसरा खड्का र १४ वर्षीया सरस्वती खड्काको पोस्टमार्टम सकिएको छ । उनीहरुको सोमबार भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको हो ।

    तर पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही दिनमा रिपोर्ट आउनेछ । त्यसपछि घटनाबारे थाहा हुने अछामका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।



    उनीहरुको पोस्टमार्टम हिजै सकिएको थियो । तर राति भइसकेपछि उतै शवहरु राखिएको थियो । आज बिहान उनीहरुको शव फेरि अछाम ल्याइएको छ । तर शव बाटोमै रहेको प्रहरीले जनाएको छ । अछाममै पोस्टमार्टम गर्ने भनिए पनि घटना गम्भीर र संकास्पद भएपछि शवहरु नेपालगञ्ज पठाइएको थियो ।

    डीएसपी भण्डारीले भने, ‘पोस्टमार्टम सकियो । रिपोर्ट आएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे खुल्न सक्छ । अहिले भन्न सकिने अवस्था छैन । भर्खरै त्यहाँबाट शव ल्याउँदै छौँ । आज अछाम शवहरु आइपुग्छन् । लगत्तै शवहरु आफन्तहरुलाई बुझाउँछौँ ।’

    शव अछाम ल्याइसकेपछि आफन्तलाई बुझाउने प्रहरीको तयारी छ । तर आफन्तहरुले भने घटनाको अनुसन्धान नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् । यता प्रहरीले सिआइबीको सहयोग लिएर अनुसन्धान गरिरहेको छ ।

    डीएसपी भण्डारीका अनुसार अहिलेसम्म दुईजना नियन्त्रणमा छन् । तर उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छैन । अन्य केही व्यक्तिसँग पनि सोधपुछ गरिएको उनले बताए । किशोरीहरुका आफन्तले भने हत्या गरिएको हुनसक्ने भन्दै अनुसन्धानको माग गरिरहेका छन् । अनुसन्धानलाई तीव्र पारिएको पनि उनको दाबी छ ।

    आफन्तहरुले केही व्यक्तिका नाममा जाहेरी पनि दिने तयारी गरेका छन् । तर जाहेरी अहिलेसम्म जिल्लामा भने नआएको डीएसपी भण्डारीले जानकारी दिए । यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले पनि अनुसन्धानका लागि छुट्टै टोली अछाम पठाएको छ ।

    प्रदेश प्रहरी प्रमुख तथा डीआईजी गणेश चन्दले जिल्ला प्रहरी कार्यालय अछामले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताए । ढकारी गाउँपालिका-८ पल्साताका दुई किशोरी गत शनिबार साँझ जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । उनीहरू बाख्रा चराउन शुक्रबार जंगल गएका थिए ।

    शनिबार दिउँसोसम्म सम्पर्कमा नआएपछि उनीहरूको खोजी थालिएको थियो । त्यसक्रममा गोठाला गएको जंगलमा करिब १६ मिटरको फरकमा दुई किशोरीको शव फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार