Online Nepal
  • बुधबार, १० बैशाख २०८२
  • डीआईजी शर्मामाथि छानविन, हेडक्वार्टरको चेतावनीपछि केही घुमुवा हटाइए

    डीआईजी शर्मामाथि छानविन, हेडक्वार्टरको चेतावनीपछि केही घुमुवा हटाइए

    अनलाइन नेपाल
  • सोमबार, १४ माघ २०८१
  • 4K
    SHARES

    काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) कृष्णहरि शर्माले सरुवा भएपछि पटक–पटक निलम्बनमा परेका, कारबाहीस्वरुप सरुवा भएका प्रहरीको काजसरुवा गर्दै कमाउधन्दा सञ्चालन गरेका छन् ।

    डीआईजी शर्माले बीरगञ्जका नाकामा बसेर बद्नामी कमाएका इन्स्पेक्टर अर्जुन अधिकारीलाई काजमा लगेर असुलीमा लगाएका छन् । डीआईजी शर्माले उनलाई मासिक दररेट नबुझाउने सादा पोशाकका प्रहरीलाई तान्दै विगतमा अख्तियारले घुस सहित पक्राउ गरेका र प्रहरी आचरण विपरीत क्रियाकलापमा संलग्नहरुलाई काजसरुवा गराउँदै महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।



    विवादित प्रहरी सहायक निरीक्षक (असई) राजेश साहलाई मालदार मानिने बसपार्क वा भैंसे खटाउन मकवानपुरका एसपी विश्वराज खड्कालाई उनले दबाब दिएका थिए । भैंसे रातमाटेपछि गाँजा तस्करी हुने मुख्य चौकी हो । बसपार्क पनि कमाउ ठाउँ भएकाले डीआईजी शर्माले एसपी खड्कालाई ती दुई ठाउँमध्ये एकमा पठाउन दबाब दिएका थिए ।

    तर, एसपी खड्काले डिआईजीले भनेका ठाउँमा नखटाएपछि चौकी टोलको चेकपोष्टको इन्चार्ज बनाउन दबाब दिइरहेको प्रहरी स्रोत बताउँछ ।

    एक बर्षअघि असई साहले सुनाचरी चेकपोष्टमा हुँदा नेपाली कांग्रेसका स्थानीय नेता कमल दोङको मिलमा अफिम राखेर फसाएका थिए । दोङले घुस नदिएपछि उनलाई  अफिम राखेर फसाएपछि मकवानपुर कांग्रेसले राजमार्गमा चक्काजाम नै गरेको थियो। त्यसपछि असई साहलाई कारबाहीस्वरुप चितवन सरुवा गरिएको थियो ।

    घुस नदिएपछि निर्दोष नागरिकलाई अफिम राखेर फसाउने तिनै साहलाई डीआईजी शर्माले इन्चार्ज बनाउन दबाब दिएका छन् ।

    यसैबीच, डीआईजी शर्माले मकवानपुर र चितवनका नाकाहरुमा टेण्डर कबोल नै गरी सरुवा गरेका चौकी इन्चार्जहरुको सेटिङमा गाँजा तस्करी हुने गरेको समाचार बाहिरिएपछि रातमाटे चेकपोष्टको इन्चार्ज रहेको सई बृजकुमार चौधरीलाई त्यहाँबाट हटाएका छन् ।

    त्यस्तै लोथर चौकीका वरिष्ठ सई राजेश यादवलाई पनि इन्चार्जबाट हटाएका छन् । चौधरीका आफन्त नै गाजाँको तस्करी गर्दागर्दै पक्राउ परी विरगञ्ज कारागारमा सजाय भोगिरहेका छन् ।

    डीआईजी शर्माका गलत क्रियाकलापका विषयमा गृहमन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म उजुरी परेपछि उनीमाथि गोप्य रुपमा छानविन भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाई छ । कारबाहीबाट जोगिन उनले आफैले खटाएका घुमुवाहरुलाई विस्तारै तान्न थालेका छन् ।

    स्रोतका अनुसार आईजीपी बसन्त कुँवरले सुध्रिएर काम नगरे कारबाही गर्ने चेतावनी दिएपछि डीआईजी शर्माले घुमुवाहरुलाई सरुवा गर्दै आईजीपीको आँखामा छारो हाल्ने काम गरेका छन् । तर, अन्य चेकपोष्टहरुका इन्चार्जहरुको असुलीधन्दा भने अहिले पनि जारी रहेको प्रहरी स्रोत नै बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार