काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले जलश्रोत तथा सिंचाइ विभागअन्तर्गतका बिभिन्न कार्यालयहरुमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९रुपैयाँ ५४ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
इन्जिनियर श्रेष्ठले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिने गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
उनले काठमाडौं, ललितपुरलगायत बिभिन्न स्थानहरूमा घर घडेरी जग्गाहरु, गाडी खरिद र बिभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको पाइएको छ ।
उनले बिभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।
श्रेष्ठले चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न बराबरको खर्च तथा लगानीको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता घिमिरेले बताए।
वैधानिक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले बिगो चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न कायम गरी सम्पत्ति जफत एवं असुल उपर हुन मागदाबी लिइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।
श्रेष्ठको एकासंगोल घर परिवारको नाममा जग्गा खरिद रकम ५ करोड ३२ लाख ८ हजार ९४४, घर निर्माण लागत रकम एक करोड १२ लाख ६९ हजार ५३५ रूपैयाँ ९४ पैसा, कम्पनी स्थापना तथा सञ्चालन खर्च रकम ३२ लाख, शैक्षिक तथा अध्ययन खर्च रकम ३० लाख ४३ हजार ७६८ रूपैयाँ ४५ पैसा, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा भुक्तानी रकम ७ करोड ३१ लाख ७७८ रूपैयाँ १७ पैसा खर्च भएको पाइएको छ।
शेयर खरिद रकम एक करोड ३२ लाख ५५ हजार ४४५ रूपैयाँ ५८ पैसा, व्यक्तिगत वैदेशिक भ्रमण रकम १४ लाख ४० हजार, कम्पनीको कर भुक्तानी रकम ६० हजार ७९०, बीमा प्रिमियम किस्ता भुक्तानी रकम ५ लाख ८५ हजार १३५, विद्युतीय उपकरण खरिद रकम एक लाख ५ हजार, सुन खरिद ९ लाख ४० हजार र बैंक मौज्दात रकम ११ लाख ८६ हजार १३१ रूपैयाँ ५७ पैसा गरी १६ करोड १३ लाख ९५ हजार ५२८ रूपैयाँ ७१ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।
श्रेष्ठको जाँच अवधिमा ४ करोड ८८ लाख ३० हजार ३२९ रूपैयाँ ५४ बराबरको खर्च तथा लगानी (सम्पत्ति)को स्रोत नखुलेकाले मुद्दा दायर गरिएको हो ।
साथै, श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफन्तको नाममा राखेको देखिएकाले जफत गर्ने प्रयोजनको लागि पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी कायम गरिएको घिमिरेले बताए ।
Leave a Reply