Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भोला साहले कौडीको मूल्यमा कब्जा गरेको नगर सभागृहमा अवैध संरचना निर्माण, घुस लिएपछि मेयर सिंह चुप

    भोला साहले कौडीको मूल्यमा कब्जा गरेको नगर सभागृहमा अवैध संरचना निर्माण, घुस लिएपछि मेयर सिंह चुप

    अनलाइन नेपाल
  • आइतबार, २८ पुष २०८१
  • 165
    SHARES

    वीरगन्ज । देशभरी सार्वजनिक जग्गा जमिन कौडीको मूल्यमा लिएर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय रहेको समाचार बारम्बार आइरहेका छन् ।

    तर सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रमुख नै सेटिङमा त्यस्ता जग्गा भू-माफियालाई दिन तल्लीन छन् ।



    यस क्रममा वीरगन्जको एक माफिया गिरोहले महानगरपालिकाका मेयरदेखि कर्मचारीसम्म सेटिङ गरेर वीरगन्जको नगर सभागृहमाथि कब्जा जमाउँदै आएको छ ।



    स्थानीय निकाय जनप्रतिनिधि बिहीन रहेको अवस्थामा कागज बनाएर पैसा खाने विद्यामा महारत हासिल गरेका तत्कालीन अधिकृत शान्त बस्नेतको पहलमा सार्वजनिक निजी साझेदारी (सानिसा) अवधारणाअन्तर्गत भोला साह कलवारलाई आदर्शनगरस्थित नगर सभागृह भाडामा दिने निर्णय मधेस आन्दोलन अगाडि गरेको थियो।

    तस्वीरमा पहिलो पुरानो वीरगन्ज नगर सभागृह, दोस्रो बिजय सराबगी मेयर हुँदा बिना इजाजत बनाइएको भवन र तेस्रो वर्तमान मेयर राजेश मान सिंहका पालामा बन्दै गरेको भवन ।

    भोला साह कलवारले आफ्नो श्रीमती प्रमिला साहको नाममा लिएलगत्तै देशभित्र मधेश आन्दोलन सुरु भयो । यता नगर सभागृहको ठिक पछाडि भोला कलवारले निर्माण कार्य सुरु गरे।

    बिना इजाजत निर्माण कार्य किन गर्‍यो भनेर त्यसपछि आएका कार्यकारी अधिकृत विष्णु कोइरालाले भोलालाई हैरान बनाएर आकर्षक नजराना लिई स्थानीय विकास मन्त्रालयका प्रतिनिधिसमेतको संलग्नतामा मिति २०७३ साल कार्तिक २८ गते २२ वर्षका लागि म्याद थपिदिए ।

    यस प्रकरणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राखेर वीरगन्ज महानगरपालिकामा पत्राचार गर्‍यो ।

    वीरगन्ज महानगरपालिकामा मेयर विजय सरावगी निर्वाचित भएपछि पूर्वतिर भोला साह कलवारले अर्को होटल र भिआइपी बस्ने सुईट बिना इजाजत निर्माण सुरु गरे।

    सरावगीको पालामा पनि पत्र लेख्ने काम भयो र बिना नक्सा पास भवन बनाएको भनि जरिवाना असुलेर चोख्याउने काम भयो । सरावगीपछि मेयर राजेशमान सिंह आए । उनको पालामा बर्षौं पुरानो रूख काटेर ढोका अगाडि नै अर्को भवनको निर्माण सुरु भएको छ ।

    वीरगन्जवासीको यो साझा धरोहरलाई मरणोपरान्त पुस्ता दर पुस्ता खाइरहने नियतले कलवार ब्रदर्श अगाडि बढेको देखिन्छ । सानिसा अवधारणा अन्तर्गत सर्वसाधारण जनतालाई सुविधा दिने ठाउँमा यसका सञ्चालकहरूले सक्दो आफूलाई फाइदा उठाउने उद्देश्यले काम गरेको पाइएको छ । उदाहरणका लागि विवाहको लागि बुक गर्न खोज्दा ७ लाख ५० हजार शुल्क लिने गरिन्छ ।

    नगर सभागृहभित्र सम्झौता विपरीत हुक्का बार सञ्चालन गरिएको छ । रक्सी, जुवा तास कौडी खेलाउनेदेखि समाजले वर्जित गरेको सम्पूर्ण गतिविधि सञ्चालन हुँदा पनि सोधिखोजी कतैबाट भएको छैन ।

    भोला साह कलवारले आफूले अख्तियारबाट ‘क्लीनचिट’ पाएको भन्दै करोडौं रुपैयाँ लगाएर रिस्क लिई अहिले कमाइरहेको देख्दा डाहा लाग्नेहरुको कमी नभएको भन्दै हिँड्ने गरेका छन् ।

    विश्वामित्र कलवार र भोला साह कलवार पालै पालो कलवार कल्याण समिति पर्साको अध्यक्ष बनेपछि विवाह व्रतबन्धका लागि कलवार कल्याण समितिको भवन बुक गर्दागर्दै त्यहीँबाट पैसा कमाउने जुक्ति उनीहरूलाई फुर्यो ।

    सोही बमोजिम आदर्शनगरस्थित राष्ट्रिय सभागृह हात पार्ने योजना बनाएर नगर सभागृह हत्याएको बताइन्छ । विश्वामित्र कलवार पनि भोलासँगै नगर सभागृहमा साझेदार रहेका छन् ।

    भोला साह कलवार विवादित पृष्ठभूमि भएका व्यक्ति हुन् । तस्करी र अवैध हातहतियार राखेको अभियोगमा कैयौं पटक प्रहरीको हिरासतको यात्रा गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार