काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ विवादमा तानिएकी छिन् । केही दिन अगाडी पशुपति विकास कोषमा सुरक्षार्थ खटिएका डीएसपीसहितका प्रहरीलाई नाङ्गै भएर हिड्नुस भनेपछि आशिका विवादमा तानिएकी हुन् ।
कोषले ३५ महिलालाई जागिरबाट निकालेको छ । त्यसको विरोधमा पशुपति विकास कोषमा पुगेकी तामाङ र प्रहरीबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
प्रहरीले आशिकालाई कोषको कार्यालयभित्र प्रवेश गर्न नदिएपछि उनी उग्र रुपमा प्रस्तुत भएकी थिइन् । कोषले ३५ महिलालाई जागिरबाट निकालेपछि पीडितहरु कार्यालयको गेटमा अनशन बसेका थिए ।
उनीहरुको समर्थन र कोषका प्रमुखसँग कुरा गर्न आशिका त्यहाँ पुगेकी थिइन् । तर प्रहरीले प्रवेश गर्न नदिएपछि वादविवादको अवस्था सिर्जना भएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।
डीएसपीलाई उनले कार्यालय प्रमखसँग भेट गराउन भनिरहेको भिडियोमा सुन्न सकिन्छ । तर त्यहाँ खटिएका एकजना डीएसपीले कुरा गराउन नसक्ने जवाफ दिएको सुन्न सकिन्छ ।
त्यसपछि आशिकाले कुरा गराउन नसक्ने भएपछि बर्दी खोलेर नाङ्गै भएर हिड्नुस भनेकी थिइन् । आशिकाले भनेकी छिन्, ‘कुरा गराउन नसक्ने भए बर्दी खोलेर नाङ्गै भएर हिड्नुस, बुझ्नु भो । तरिका हो यो । यो ३५ जनाको मात्रै समस्या हो ।’
अहिले कतिपयले आशिकाको विरोध गरिरहेका छन् भने केहीले समर्थन गरिरहेका छन् । अहिले सो भिडियोका क्लिपहरु सामाजिक सञ्जालहरुमा भाइरल छन् ।
विरोध हुन थालेपछि शुक्रबार बिहान मात्रै आशिकाले फेसबुकमा लेखेकी छन्, ‘धेरै जनाले मैले पुलिस ज्युहरु सग नराम्रो ब्यबहार गरिस भन्नू भो ! त को होस भने पछि चुप लागेर को चाहिँ बस्न सक्छ ? उहाँहरु यो देश सुरक्षाकर्मी हो भने म पनि यहि देशको धुलोबाट बनेको सर्बसाधारण हुँ !’
Leave a Reply