काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिध्याउने सपना कसैले नदेखे हुने बताएका छन् ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय कार्यशालालाई च्यासलमा सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले ‘झिँगाको सरापले डिंगा’ नमर्ने टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले भने,‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भन्न पुगे। एमालेलाई भित्तामा टाँसिदिने अरे क्या लगेर । भित्तामा टाँसेपछि फोटो भएन । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने । के भनेनन् !’
एमालेको अस्तित्व समाप्त पार्न अनेक प्रयास भए पनि अहिले सरकारकै नेतृत्व एमालेले गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पार्टीलाई कमजोर पार्न खोज्नेहरूको प्रयासलाई जनताले अस्वीकृत गरिदिएको दाबी गरे ।
एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको उनको भनाइ छ । एमाले र आफ्नाबारेमा राजनीतिक दलका नेताहरूले अनेक कुरा लगाए पनि राजनीतिमा आफू इमानदार रहेको उनले दाबी गरे ।
Leave a Reply