काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिसन खान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले सभापति देउवामाथि उक्त आरोप लगाएका हुन् ।
अध्यक्ष नेपालले ठेक्कामा कमिसन खान डडेलधुरामा पनि बनाउन खोजिएको आरोप लगाए।
अध्यक्ष नेपालले भने, ‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरू कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनुपर्यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुराबाहेक अरू केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरूले पनि धेरै नोक्सानी भइरहेको छ ।’
विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरूले लिनुपर्ने उनको भनाइ छ । एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा रहेको भन्दै उनले आक्रोस पोखे ।
Leave a Reply