काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा ‘प्रभाकर’ले पार्टीलाई प्राइभेट कम्पनी जसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको बताएका छन् ।
काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताए ।
उपमहासचिव शार्माले बाहिर हुने गरेका त्यस्ता आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका हुन् ।
बैठकमा उनले विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको भन्दै अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ? भनेर प्रश्न गरेका थिए ।
प्रभाकरको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने–‘अध्यक्षमा हामी कसैले दावी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो । चुनिएर आउन किन डराउनुपर्यो ।’
अरुलाई बोल्न ३ मिनेट, जनार्दनलाई १३ मिनेट ?
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।
सोमबारबाट सुरु छलफलमा भाग लिन एक सय ८० जनाले नाम लेखाएका थिए । प्रत्येकलाई तीन–तीन मिनेटभित्र अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न समय निर्धारण गरिएको थियो । नाम टिपाएकामध्ये सोमबार ८० जनाले निर्धारित समयभित्रै धारणा राखे ।
नाम टिपाएका केन्द्रीय सदस्य, पोलिट्ब्युरो, हुँदै स्थायी समिति र अधिकांश पदाधिकारीले खाजा समयअगाडि नै आआफ्ना धारणा राखिसकेका छन् । उनीहरू सबैले तीन–तीन मिनेटभित्रै आफ्ना कुरा राखे ।
एक केन्द्रीय सदस्यका अनुसार उपमहासचिव जनार्दन शर्माले भने १० मिनेट बढी समय लिए । उनले बोल्ने पालो आएपछि आफ्नाबारेमा प्रश्नहरू उठेकाले तिनको जवाफ दिनुपर्ने र आफूले पनि प्रतिवेदनसहित नेतृत्वसँग जवाफ माग्नुपर्ने भएकाले समय नपुग्ने भन्दै अध्यक्षसँग समय थपको माग गरेका थिए ।
उनको मागअनुसार नै अध्यक्ष प्रचण्डले १० मिनेट थप राख्नुस् भनेपछि शर्माले १३ मिनेटसम्म बोले । खाजा समयअगाडिको छलफलमा उपाध्यक्ष कृष्णबहादुर महरा उपस्थित थिएनन् भने उपस्थित भए पनि शक्ति बस्नेतले धारणा राखेनन् ।
Leave a Reply