काठमाडौं । नेपाल प्रहरीका दुई एसपीमाथि गम्भीर प्रकृतिको आरोप लागे पनि कारबाहीबाट भने उन्मुक्तिको तयारी भएको छ । मुद्दा नै चल्नुपर्ने प्रकृतिको घटनामा कारबाही समेत हुन सकेको छैन ।
एसपी कमल थापा र नवराज कार्कीमाथि दुई महिनादेखि छानबिन भए पनि कारबाहीको टुंगो नलागेको हो । एसपी थापाको हनि ट्रयापिङ गिरोहसँग साँठगाँठ देखिएको छ भने एसपी कार्कीले क्रिप्टोकरेन्सी र अनलाइन जुवा खेलाउने गिरोहसँग पैसा असुल्ने गरेको प्रमाण भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी प्रमुखका रूपमा एसपी कार्कीले २५ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको थियो । घटना बाहिरिएपछि उनलाई त्यहाँबाट हटाएर एसएसपी भिमप्रसाद दाहालको नेतृत्वमा छानबिन भयो ।
समितिले प्रतिवेदन बुझाइसकेपनि कारबाही प्रक्रिया सुरु हुन सकेको छैन । छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमै अलपत्र छ । इन्स्पेक्टर विक्रमबहादुर भट्टराईमार्फत उनले पैसा असुलेको पुष्टि भएको थियो ।
पछि पैसा फिर्ता गरेर पीडितको मुख बन्द गराइयो । जबकि इन्स्पेक्टर भट्टराईले आफुले पैसा लिएर बुझाएको स्वीकार गरेका थिए । सो प्रकरणमा एसपीले खटाएका घुमुवाहरू हवल्दार राजकुमार श्रेष्ठ र खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भएको थियो ।
तर, कसैलाई पनि निलम्बन समेत गरिएको छैन । उता हनि ट्रयापमा संलग्न गिरोहसँग साँठगाँठ भएका एसपी थापामाथिको अनुसन्धान पनि सिआइबीमा अलपत्र छ ।
ललितपुरको भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलिएको घटनामा एसपी थापा मुछिएका हुन् । जसमा पहिलो चरणमा मुद्दा दायर भइसकेको छ । सरकारी वकिल कार्यालयले अभियुक्तकै रूपमा थापाको बयान लिन लिखित निर्देशन दिएको थियो ।
सो गिरोहका नाइके ताज इस्लामसँग उनको निकटतम सम्बन्ध देखिएको थियो । उनै एसपी थापाले भैंसेपाटी प्रभागकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीलाई चिनजान गराएर पैसा असुल्न सघाएका थिए ।
पैसा असुलिएकै दिन इस्लाम र एसपी थापाबीच आधा घण्टा गोप्य भेटघाट भएको प्रहरी छानबिनमा खुलेको थियो । यती गम्भीर घटनामा थापामाथि पनि कारबाही भएको छैन ।
निलम्बनमा परेकी इन्स्पेक्टर शाही भने ५ लाख रुपैयाँ धरौटीमा छुटेकी थिइन् । उनै शाहीले गिरोहका नाइके ताज इस्लामको मोबाइल गायब बनाएकी छिन् । जून मोबाइलमा एसपी र इस्लामबीचका गोप्य कुराकानीको प्रमाण थियो ।
Leave a Reply