काठमाडौं । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिटको संवैधानिक इजलासमा पेसी तोकिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेश मार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरको माग गर्दै परेको रिट सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा परेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले २०७७ साल पुसमा ५२ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति गैर संवैधानिक भएकोले बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।
उक्त रिटमा यसअघि २०७८ साल चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो । त्यसपछि उक्त रिट पटकपटक पेसीमा चढ्दै स्थगित हुँदै आएको थियो ।
पछिल्लो पटक २०८१ साल भदौ १९ गते उक्त रिटमा तोकिए पनि ‘हेर्न न्याइने’मा पर्दै स्थगित भएको थियो । रिटमा नियुक्ति लिएका ५२ जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।
ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगलगायत निकायमा ५२ जनाको नियुक्ति गरेका थिए ।
Leave a Reply